खबरब्रेकिंग, भक्तपुर,असार १७ गते। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग एकता गरेर बनाएको नेकपा नटिक्नु दुर्भाग्य भए पनि पुनः एकताको अभियानमा लाग्नुपर्ने बताएका छन । आइतबार कम्युनिस्ट संस्थापक नेता नारायण विलास जोशीको ३४ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । प्रधानमन्त्री प्रचण्डले तत्कालीन नेकपा एकता नटिके पनि पुनः नेकपा तिरै फर्कनुपर्ने बताए । उनले नेकपा बन्दा जनतामा ठुलो उभार देखा परेको र प्रतिगामीहरू डराएको भए पनि आफ्नै कारणले एकता टिक्न नसकेको बताए ।
‘तर दुर्भाग्य हामीले त्यो एकतालाई बचाउन सकेनौ । त्यो एकतालाई बचाएर राष्ट्र र जनताको हितमा, समाजवादको हितमा जाने प्रचुर सम्भावना थियो त्यो बचाउन सकिएन’, प्रचण्डले भने ।
उनले एक पटक असफल भए पनि त्यसबाट शिक्षा लिएर फेरि अगाडि बढ्ने उद्देश्य राख्नुपर्ने पनि बताए । ‘एकचोटी असफल भयो भन्दैमा हुँदैन । विश्वभरिकै समाजवादको आन्दोलनको इतिहास एकता सङ्घर्ष, विभाजन र रूपान्तरण फेरि एकता र सघर्ष भएर गुज्रँदै अघि बढेको छ । नेपाली कम्युनिस्ट आन्दोलन पनि त्यही नियम अनुसार नै अगाडि बढेको छ’, प्रचण्डले भने, ‘आज हामीले फेरि एकचोटी विचार र चिन्तन गर्नुपरेको छ– कि हिजो के कारणले एकीकृत भएको कम्युनिस्ट आन्दोलन बच्न सकेन ? ’
प्रचण्डले विचार र राजनीतिमा कहाँ त्रुटि थियो भनेर सबैले सोच्नुपर्ने पनि बताए । ‘अहिले हामी माधव नेपाल र विप्लवसहित मोर्चा बनाएर अघि बढ्ने जमर्को गरेका छौ । माधवजी र मैले फेरि नेकपा तिरै फर्कनुपर्छ, फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भनेका पनि छौ’, प्रचण्डको भनाइ छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend