काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बुधबार बिहान ९ः३० बजे काठमाडौंमा कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्यको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो।
सभाले आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गरेको छ। त्यसैगरी, सोही आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण छलफल गरी अनुमोदन गरेको छ। सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरेको छ।
सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ। बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ।
त्यस्तै, कम्पनीको साधारण शेयरमा परिणत हुने गरी ऋणपत्र (डिबेन्चर) जारी गर्ने तथा त्यसबाट प्राप्त रकम उपयोग गर्ने प्रस्ताव पारित भएको छ। कम्पनीको कुल पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने र त्यसबाट प्राप्त रकम उपयोग गर्ने विशेष प्रस्तावसमेत सभाले पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालक समितिबाट कम्पनीको व्यवसाय सञ्चालन, लगानी, ऋण तथा कर्पोरेट ग्यारेन्टीसम्बन्धी गरिएका निर्णय र कार्यहरू अनुमोदन गरेको छ। साथै, सञ्चालक समितिका अन्य निर्णयहरूलाई समेत सभाले अनुमोदन गरेको छ। यसैगरी, कम्पनीको प्रबन्धपत्रको दफा ६ (क), (ख) र (ग) संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित भएको छ।
सभाले पारित गरेका प्रस्तावले कम्पनीको पुँजी संरचना थप सुदृढ बनाउँदै आगामी व्यावसायिक तथा वित्तीय गतिविधिलाई अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। अध्यक्ष कृष्णप्रसाद आचार्यको सभापतित्वमा सम्पन्न सभामा कम्पनीका शेयरधनी तथा सम्बन्धित पक्षहरूको सहभागिता रहेको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend