काठमाडौं । संयुक्त ऊर्जा लिमिटेडको चौथो वार्षिक साधारणसभा २०८३ कार्तिक २० गते काठमाडौंमा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा सम्पन्न सभाले शेयरधनीलाई चुक्ता पुँजीको ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले सञ्चालक समितिको प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको कम्पनीको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ। त्यस्तै, सञ्चालक समितिबाट भएका कामकारबाही तथा निर्णयहरूलाई समेत अनुमोदन गरेको छ।
कम्पनीको शेयर पुँजी १ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको छ। कम्पनीले म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकामा अवस्थित २१.३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन गरिरहेको छ।
सभाले कम्पनीको शेयर सार्वजनिक निष्कासन गर्ने प्रक्रियालाई अघि बढाउन आवश्यकताअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन वा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत पारित गरेको छ।
साधारणसभाबाट पारित निर्णयसँगै कम्पनीले लाभांश वितरण तथा सार्वजनिक शेयर निष्कासनसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउने बाटो खुलेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend