आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

हाम्रो पार्टीमा गम्भीर आत्मसमीक्षा आवश्यक छः नेता खड्का

हाम्रो पार्टीमा गम्भीर आत्मसमीक्षा आवश्यक छः नेता खड्का

 

१९ कार्तिक, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता कृष्ण बहादुर खड्काले देशमा देखिएको वर्तमान राजनीतिक अस्तव्यस्तता र जनअसन्तुष्टिको मूल कारण प्रमुख दलभित्रको ठेकेदार–माफिया संस्कृति भएको बताएका छन् । उनले भने, “जेन्जी आन्दोलनले पुराना दलहरूलाई आफ्नो गल्ती स्वीकार गरेर जनभावनाको बाटोमा फर्किन सन्देश दिएको छ । अब पनि सच्चिएनौं भने कि सक्किने हो, अरु उपाय छैन ।”

खबरब्रेकिङ डटकमसँग विशेष कुराकानी गर्दै नेता खड्काले देशको राजनीतिक अवस्था “दुर्घटनाग्रस्त” बनेको उल्लेख गर्दै त्यसको जिम्मेवारी प्रमुख दलहरू  नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रले लिनुपर्ने बताए । उनका अनुसार  “यी दलहरूमा पैसा, ठेकेदार र माफिया हावी भए । सिद्धान्त, निष्ठा र त्यागमा आधारित राजनीति हरायो । यही कारण देशले अहिलेको दु:खद अवस्था देख्नुपरेको हो ।”

उनले पछिल्ला दशकमा दलहरूले जनताको विश्वास गुमाएको, पार्टीभित्र परिवारवाद, आसेपासे र व्यक्तिगत स्वार्थको राजनीति हावी भएको आरोप लगाए । “पार्टीमा निष्ठावान कार्यकर्ताभन्दा चाप्लुसी र पैसावालहरू अगाडि छन् । नेताहरू पटक–पटक दोहोरिँदै देश चलाउने प्रचलनले नयाँ पुस्ताको उत्साह मारिएको छ,” उनले भने ।

खड्काले जेन्जी आन्दोलनलाई मुलुकको चेतना जगाउने ऐतिहासिक मोडको रूपमा व्याख्या गर्दै भने, “ती युवाहरूले प्रणालीको परिवर्तन होइन, सोचाइ र आचरणको परिवर्तन मागेका छन् । त्यसैले दलहरूले उनीहरूको भावनालाई बुझ्न सकेनन् भने यो आन्दोलनले अझ ठूलो रूप लिन सक्छ ।”

उनले लोकतन्त्रको मर्म भनेको जुट हो, फुट होइन भन्ने जोड दिँदै दलहरूबीच सहकार्य र आत्ममूल्यांकनको आवश्यकता औंल्याए । “लोकतन्त्रमा पार्टी फुट्नु राम्रो होइन । अहिले माओवादी लगायत केही दलहरूबीच सहकार्यको प्रयास भइरहेको छ, यो सकारात्मक पक्ष हो । तर सहकार्य सत्ता बाँडफाँडका लागि होइन, सुधारका लागि हुनुपर्छ,” उनले भने ।

काँग्रेस भित्रको सुधारका विषयमा खड्काले स्पष्ट रूपमा भने, “हाम्रो पार्टीलाई गम्भीर आत्मसमीक्षा आवश्यक छ । काँग्रेस सच्चिएन भने जनताले अर्को विकल्प रोज्नेछन् । अब नयाँ पुस्ता र नयाँ सोचका नेताहरू अघि आउनुपर्ने बेला आएको छ ।”

खड्काले विदेशी हस्तक्षेपलाई नेपालको स्वाधीनतामाथि खतरा बताउँदै स्वदेशी उत्पादन र आत्मनिर्भर अर्थतन्त्रतर्फ ध्यान दिनु पर्नेमा जोड दिए । “देश विदेशी एजेन्डाबाट होइन, आफ्नै आत्मबल र श्रमबाट उठ्छ । विदेशी हस्तक्षेप निषेध गर्नुपर्छ, आत्मनिर्भर बन्नुपर्छ,” उनले भने ।

आगामी चुनावबारे कुरा गर्दै उनले हालको राजनीतिक वातावरणले नतिजा दिन नसक्ने चिन्ता पनि व्यक्त गरे । “अहिलेको परिस्थिति हेर्दा तत्काल चुनाव हुने कुनै स्पष्ट संकेत छैन । तर लोकतन्त्रमा चुनाव हुनैपर्छ । जनताले मतदानमार्फ  आफ्नो प्रतिनिधि छान्न पाउनुपर्छ, यही लोकतान्त्रिक संस्कार हो,” उनले भने ।

नेता खड्काले देशको स्थायित्वका लागि सबै दलहरूलाई एकै ठाउँमा आउन आह्वान गर्दै भने, “देशलाई राजनीतिक स्वार्थले होइन, राष्ट्रिय हितले चलाउन सक्नुपर्छ । अब समय सच्चिने हो, होइन भने यो लोकतन्त्रले  पनि विश्वास गुमाउँदै जानेछ ।”

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend