आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आज देशभर कुकुर तिहार मनाइँदै

आज देशभर कुकुर तिहार मनाइँदै

काठमाडौं । यम पञ्चक अर्थात् तिहारको दोस्रो दिन आज आइतबार देशभर कुकुर तिहार मनाइँदैछ । मानिसको विश्वासिलो साथी तथा यमराजको दूतका रूपमा कुकुरलाई सम्मान गर्दै आज बिहानैदेखि पूजा गरी कुकुर तिहार मनाउन लागिएको हो ।

हिन्दू धर्मशास्त्रअनुसार कुकुरलाई यमराजको द्वारपाल तथा सन्देशवाहकका रूपमा लिने धार्मिक मान्यता छ । यमलोकको द्वारमा श्याम र सबल नामका दुई कुकुर रहने र उनीहरूले यमराजको सन्देश प्रवाह गर्ने धार्मिक विश्वास रहिआएको छ । यही मान्यताअनुसार कुकुर तिहारका दिन कुकुरको पूजा गरी सम्मान गर्ने परम्परा छ।

कुकुर तिहारका अवसरमा बिहानै घरपालुवा तथा सडकमा रहेका कुकुरलाई नुहाइदिने, निधारमा टीका लगाइदिने, घाँटीमा फूलको माला पहिर्‍याउने र मिठा परिकार खुवाउने गरिन्छ। कुकुरलाई मनपर्ने खानेकुरा दिएर पूजा गर्दा यमराज प्रसन्न हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।

धार्मिक महत्वसँगै कुकुर मानिसको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनावर पनि हो । घरको सुरक्षादेखि अपराध अनुसन्धान, खोज तथा उद्धार र सुरक्षाकर्मीका विभिन्न काममा कुकुरको योगदान रहँदै आएको छ। मानिससँगको आत्मीय सम्बन्ध र वफादारीका कारण पनि कुकुरलाई विशेष सम्मान गरिन्छ ।

तिहारलाई पाँच दिनसम्म मनाइने यमपञ्चकका रूपमा लिइन्छ। यस अवधिमा काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गोवर्धन पूजा तथा भाइटीका गरी विभिन्न धार्मिक तथा सांस्कृतिक परम्परा अनुसार पर्व मनाउने गरिन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend