आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

हामीले सपना देखेको स्वतन्त्र र आत्मनिर्भर नेपाललाई आज विदेशी दस्तावेजले बाँधेको छः लुईटेल

हामीले सपना देखेको स्वतन्त्र र आत्मनिर्भर नेपाललाई आज विदेशी दस्तावेजले बाँधेको छः लुईटेल

 

१३ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष डा. तारानाथ लुईटेलले अहिलेको राजनीतिक अवस्था र जनतामाथि भइरहेको निराशा र बेथितीबारे कडा प्रतिक्रिया व्यक्त गर्दै देशलाई पुनः राजा सहितको प्रजातान्त्रिक व्यवस्थातर्फ फर्किनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत  गणतन्त्रको दुई दशक लामो अभ्यासले जनतामा आशा होइन, निराशा र विस्थापनको पीडा मात्र दिएको उल्लेख गरेका छन्।

डा. लुईटेलका अनुसार जनताले गणतन्त्र ल्याउँदा बिकास, रोजगारी, शिक्षा, स्वास्थ्य र समृद्धिको सपना देखेका थिए । “राजा गएपछि देशमा जनता आउनेछ, जनता बोल्नेछ, जनता विकास गर्नेछ भन्ने विश्वास थियो,” उनले लेखेका छन्, “तर २२ वर्षपछि पनि गास, बास, र कपासको समस्या ज्यूँका त्यूँ छ, अस्पतालहरू उपचारभन्दा दलालको अखडा बनेका छन्, र युवाहरू अझै पनि ५० डिग्रीको मरुभूमिमा पसिना बगाउन बाध्य छन्।”

उनले हालको नेतृत्वमाथि गम्भीर प्रश्न उठाउँदै भनेका छन्, “देश बनाउने कुरा गर्नेहरू आफ्ना परिवारको उपचारका लागि बिदेश जान्छन्, जनता भने आफ्ना छोराछोरीको स्कुल फी तिर्न नसकेर रुन बाध्य छन्।” पूर्व प्रधानमन्त्री देउवाको हालको उपचार भ्रमणलाई उल्लेख गर्दै उनले टिप्पणी गरेका छन्, “परिवर्तनका नाममा जुन प्रणाली आयो, त्यसले राजा हटायो तर राजाका अधिकार र विलासिता नेताहरूले आफैंमा बोके।”

डा. लुईटेलले देश विदेशी शक्तिको खेल मैदान बन्दै गएकोतर्फ पनि संकेत गरेका छन् । “एमसीसी, बीआरआई, एसपीपी—यी सबै नाममा देश टुक्र्याउने, स्वाभिमान बेच्ने काम भइरहेका छन्,” उनले भनेका छन्, “हामीले सपना देखेका स्वतन्त्र र आत्मनिर्भर नेपाललाई आज विदेशी दस्तावेजले बाँधेको छ।”

उनका अनुसार, अहिले देशमा उठिरहेको जेनेरेसन–जेड (GenZ) आन्दोलनले २२ वर्षको असफल अभ्यासको अन्त्यको संकेत गरिसकेको छ। “७६ जना युवा भाईबहिनीहरूको रगतले देखाएको बाटो अब बेवास्ता गर्न सकिँदैन,” उनले भनेका छन्, “त्यो रगत केवल आक्रोश होइन, चेतना हो ।जसले   पुरानो सत्तालाई प्रश्न गरेको छ र नयाँ विकल्प खोज्न थालेको छ।”

डा. लुईटेलले आफ्नो सन्देशमा चेतावनीस्वरूप भनेका छन्, “यदि हामीले ती युवाहरूको बलिदानको मूल्य बुझेनौं भने इतिहासले हामीलाई क्षमा गर्ने छैन। यो राष्ट्र अब पुनः आत्मसम्मानको बाटो रोज्नुपर्छ, जुन बाटो राजा सहितको प्रजातन्त्र  जहाँ जिम्मेवारी र राष्ट्रप्रेम दुबै जीवित रहोस्।”

 

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend