१२ कार्तिक, पाल्पा । बुटवलबाट तानसेन हुँदै रैनादेवी छहराको मेहलढाप जाँदै गरेको इभी भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
बुधबार दिउँसो रैनादेवी छहरा गाउँपालिका–४ को पीपलभञ्याङस्थित भित्री सडकखण्डमा भ्यान सडकबाट करिब ३५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा रैनादेवी छहरा–४ का ३४ वर्षीय चालक कमल रायमाझी, वडा–१ सिद्धेश्वरका ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी र वडा–४ मेहलढापका ४१ वर्षीय रामबहादुर गाहा मृत्यु भएका हुन्।
लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नम्बरको उक्त इभी भ्यानमा चालकसहित तीन जना मात्र रहेका थिए। बुटवलबाट गएका यात्रुहरू छहरा बजारमै झरेका र त्यसपछि भ्यान मेहलढापतर्फ गएको प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए।
स्थानीयका अनुसार साढे ११ बजे छहराबाट हिँडेको गाडी दुई घण्टासम्म नपुगेपछि खोजी सुरु गरिएको थियो। खोजीका क्रममा भ्यान खोल्सामा खसेको भेटिएको र उद्धारपछि तिनैजनालाई तानसेन अस्पताल ल्याउँदा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend