१२ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष डा. तारानाथ लुईटेलले पुनः सरकार र शासक वर्गलाई तीव्र चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै भनेका छन् । “पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपदस्त गर्नकै लागि ७६ जना जेनजी भाई–बहिनीहरूले गोली खाएर मर्नु पर्यो, तर आजसम्म पनि शुसासन देखिएन, भ्रष्टाचारीका फाइल खोलिएका छैनन्।”
डा. लुईटेलले आफ्नो पोस्टमा अहिलेको सत्तारूढ नेतृत्वमाथि कडा प्रहार गर्दै भनेका छन् कि जनताले आश गरेको परिवर्तन केवल भाषणमा सीमित छ, व्यवहारमा कुनै सुधार आएको छैन। “अब फाइल फटा फट खोलौं, भ्रष्टलाई जेल पठाऔं। होइन भने अर्को ठूलो आन्दोलन सुरु हुने तयारी भइसकेको छ,” उनले लेखेका छन्।
उनको भनाइले हालैको राजनीतिक अस्थिरता र जनतामा बढ्दो आक्रोशलाई झल्काएको छ। जेनजी आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मारिएका ७६ जनाको बलिदानलाई उनले सम्झिँदै प्रश्न उठाएका छन् । “ती युवा मरेर पनि किन यो देशमा न्याय आउन सकेन?”
डा. लुईटेलले भनेका छन्, “जनताको रगतले लेखिएको यो परिवर्तन अब ठालुहरूको व्यापार बन्ने होइन। भ्रष्टाचार, लुट, र सत्ताको स्वार्थको विरुद्धमा हामी फेरि सडकमा निस्कनेछौं। अहिले पनि जनताको पीडा उस्तै छ, केवल पात्रहरू बदलिएका छन्, प्रवृत्ति होइन।”
उनले युवाहरूप्रति आह्वान गर्दै भनेका छन् । “यो देश उठाउने शक्ति अझै पनि जनतामा नै छ। अब डर होइन, निर्णायक आन्दोलनको तयारी गरौं।”
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले हालै देशका विभिन्न जिल्लामा भ्रष्टाचारविरुद्ध जनसभा गर्ने तयारी गरेको जनाएको छ। मोर्चाका अनुसार यदि सरकारले जनताको आवाज बेवास्ता गर्न जारी राख्यो भने “दोस्रो चरणको जनआन्दोलन” सुरु गरिनेछ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend