१० कात्तिक, काठमाडौं । नेकपा (एमाले) नेतृ उषाकला राईले किष्ट अस्पतालको लापरवाहीका कारण खोटाङकी मिना राईको असामयिक निधन भएको भन्दै तीव्र आक्रोश प्रकट गरेकी छिन् । उनले अस्पताल प्रशासनले देखाएको उदासीनता र गैरजिम्मेवारीपूर्ण व्यवहारप्रति घोर भर्त्सना गर्दै तत्काल दोषीमाथि कारबाही गर्न माग गरेकी छन् ।
राईले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत लेखेकी छिन्, “हाम्रो चेली मिना राई प्रति किस्ट अस्पतालले गरेको लापरवाही प्रति घोर भर्त्सना गर्दछु। उहाँको असामयिक मृत्युले हामी सबै खोटाङ्गेहरु मर्माहत भएका छौँ। पीडित पक्षले माग गरेको सत्यतथ्य छानबिन तत्काल गर्नुपर्छ। अस्पतालले ढिलासुस्ती गरेर न्यायलाई मार्ने काम नगरोस्।”
उनले अस्पताल प्रशासनलाई चेतावनी दिँदै यस्तो संवेदनशील मामिलामा ढिलाइ वा ढाकछोप गर्ने प्रवृत्तिले समाजमा आक्रोश फैलाउने र हिंसात्मक घटना भड्किन सक्ने चेतावनी दिएकी छिन् । साथै उनले मृतकका परिवारलाई न्याय दिलाउन सम्पूर्ण सम्बद्ध निकायलाई गम्भीर बन्न आग्रह गरेकी छिन् ।
राईले स्वास्थ्य क्षेत्र जनजीवनसँग प्रत्यक्ष सम्बन्धित क्षेत्र भएकाले लापरवाहीपूर्ण उपचार कार्य अस्वीकार्य भएको बताउँदै यस्ता घटनाले सम्पूर्ण स्वास्थ्य सेवाप्रति नागरिकको भरोसा नै कम गर्ने टिप्पणी गरेकी छिन् ।
यसअघि पनि विभिन्न नागरिक र सामाजिक अभियन्ताहरूले मिना राईको मृत्युको निष्पक्ष छानबिन र अस्पताल प्रशासनमाथि कारबाहीको माग गर्दै सामाजिक सञ्जालमा आवाज उठाइरहेका छन् । घटनाको सत्यतथ्य छानबिनका लागि सम्बन्धित निकायमाथि दबाब बढ्दो क्रममा रहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend