८ कार्तिक, काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लुईटेलले वर्तमान राजनीतिक प्रणाली र सरकारहरूले देशका युवापुस्ताप्रति उदासीन व्यवहार गरेको आरोप लगाउँदै मुलुकको मुटुजस्तै भएका श्रम र शिक्षाको प्रश्नमा गम्भीर नसोचे देशले समृद्धि कहिल्यै हासिल गर्न नसक्ने चेतावनी दिनुभएको छ ।
लुईटेलले आफ्नो फेसबुकमार्फत लेख्दै खाडी मुलुकका तात्ता बालुवामा पसिना बगाइरहेका नेपाली युवाहरूको पीडादायी अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, “खाडी मुलुकमा ४५ र ५० डिग्रीको गर्मीमा झम्पल हानीरहेका युवाहरुलाई नेपालमै रोजगारी दिलाउन कसले फर्काउँछ? र गुणस्तरीय शिक्षाका लागि विदेशिएका युवा–युवतीहरूलाई नेपालमै राम्रो शिक्षाको वातावरण बनाउन सरकारसँग कुनै सोच छैन भने यो काम राजसंस्थाले मात्र गर्न सक्छ ।”
उहाँका अनुसार हजारौं युवाहरूले हिजो राजनीतिक परिवर्तनका लागि सडकमै जीवन अर्पण गरे, तर आज ती युवाहरू नै रोजगारी र अवसरको खोजीमा परदेशिन बाध्य छन् । लुईटेलले राजनीतिक नेतृत्वले युवाहरूको ऊर्जा र प्रतिभालाई राष्ट्रनिर्माणमा परिचालन गर्न असफल भएको टिप्पणी गर्दै वर्तमान शासन प्रणालीले देशभित्रको आत्मविश्वास नै क्षय पारेको बताउनुभयो ।
“युवाहरू विदेशी भूमिमा पसिना बगाइरहेका छन्, देशभित्र तिनका आमाबाबु छोराछोरीको फर्कने प्रतीक्षामा आँसु झारिरहेका छन्, तर नेतृत्व सत्ता–सन्तुलनको खेलमा व्यस्त छ,” उहाँको भनाइ छ ।
त्यस्तै, लुईटेलले शिक्षाको क्षेत्रमा पनि असमानता र अव्यवस्थाको गहिरो आलोचना गर्दै नेपालमा गुणस्तरीय शिक्षाको पहुँच नहुनु राज्यको दीर्घकालीन असफलता भएको बताउनुभयो । उहाँले जोड दिनुभयो, “रोजगारीको अवसर र गुणस्तरीय शिक्षाको अभाव नै राष्ट्रको मेरुदण्ड भाँच्ने मुख्य कारण हो। यस्ता मूलभूत प्रश्नमा दीर्घदृष्टि राख्ने सोच आजको सरकार वा दलहरूमा छैन।”
लुईटेलले नेपालमा स्थायित्व, अनुशासन र आत्मनिर्भरता ल्याउन राजसंस्थाको भूमिका अपरिहार्य भएको बताउँदै भन्नुभयो, “राजसंस्थाले नै युवालाई फर्काउने, आत्मविश्वास जगाउने र राष्ट्रको पहिचान पुनर्स्थापित गर्ने काम गर्न सक्छ।”
उनको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। कतिपयले लुईटेलको भनाइलाई देशको वास्तविकतासँग मेल खाने भन्दै समर्थन गरेका छन् भने केहीले यसलाई राजनीतिक बहसको नयाँ ढोका खोलेको बताएका छन् ।
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष लुईटेल पछिल्ला वर्षहरूमा राजसंस्थाको पुनर्स्थापना, राष्ट्रिय स्वाभिमान र आत्मनिर्भर अर्थनीतिका पक्षमा निरन्तर आवाज उठाउँदै आएका नेताका रूपमा चिनिनुहुन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend