आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष टानबहादुर केसीको असामयिक निधन

राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष टानबहादुर केसीको असामयिक निधन

 

 
राम प्रसाद बन्जाडे, ६ कात्तिक, बुटवल । भाइटीकाको उल्लासपूर्ण वातावरणमा जब देशभर दिदीबहिनीले आफ्ना दाजुहरूलाई टीका लगाइरहेका थिए, त्यसैबीच बुटवलमा एउटा परिवार र राजनीतिक समुदायमा भने असह्य शोक छायो। राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको टीकाकै क्रममा अचानक बेहोस भएर निधन भएको छ।

परिवारका अनुसार बिहीबार मध्यान्हतिर बुटवल–१९ स्थित आफ्नै निवासमा दिदीबहिनीबाट टीका ग्रहण गर्दै गर्दा ५० वर्षीय केसी एक्कासी ढलेका थिए। घरपरिवार र छिमेकीहरूले उनलाई तत्कालै बुटवल हस्पिटल प्रालिमा पुर्‍याए पनि चिकित्सकहरूले उनलाई   मृत घोषणा गरेका थिए।

अस्पतालका सूचना अधिकारी विक्रम खड्काका अनुसार, केसीलाई अचेत अवस्थामा ल्याइएपछि चिकित्सकहरूले लामो समयसम्म हृदय गति पुनःस्थापना गर्न प्रयास गरे, तर सफलता प्राप्त हुन सकेन। प्रारम्भिक अनुमान अनुसार हृदयाघात (हार्ट अट्याक) का कारण उनको निधन भएको हुनसक्ने बताइएको छ।

केसी विगत दुई दशकदेखि रुपन्देहीमा राष्ट्रिय जनमोर्चाका सशक्त, प्रतिबद्ध र निर्भीक नेताका रूपमा परिचित थिए। मितभाषी स्वभावका केसी जनतामाझ लोकप्रिय थिए र स्थानीय तहका राजनीतिक, सामाजिक तथा नागरिक अभियन्ता पनि थिए। पार्टीका जिल्ला अध्यक्षको रूपमा उनी वर्गीय राजनीति, राष्ट्रिय स्वाधीनता र संघीयताको सन्तुलनमा आधारित राज्य व्यवस्थाको पक्षधर मानिन्थे।

मातृ पार्टी नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले एक शोक विज्ञप्ति जारी गर्दै केसीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। सिंहले विज्ञप्तिमा भनेका छन्, सहकर्मी टानबहादुर केसी एक इमानदार, सिद्धान्तनिष्ठ र संघर्षशील जननेता हुनुहुन्थ्यो। उहाँको निधनले हाम्रो आन्दोलनले एउटा दृढ र भरोसायोग्य योद्धा गुमाएको छ।

भाइटीका जस्तो हर्षोल्लासको पर्वकै दिन राजनीतिक क्षेत्रको एउटा समर्पित नाम यसरी बिदा हुँदा रुपन्देही र आसपासका जनमोर्चा समर्थकहरू शोकमा डुबेका छन्। घरका आँगनमा दीप बालिँदै गर्दा एउटा दाजु र नेताको ज्योति निभेको अनुभूति अनेक अनुहारमा देखिन्छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend