आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

राजनीतिक स्थिरताका लागि केवल फागुन २१ को निर्वाचनमा भर पर्नु गलतः  राजेन्द्र मल्ल

राजनीतिक स्थिरताका लागि केवल फागुन २१ को निर्वाचनमा भर पर्नु गलतः  राजेन्द्र मल्ल

 

५ कार्तिक, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निबर्तमान अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा देखिएको जटिल र गन्जागोल राजनीतिक अवस्थालाई केवल आगामी फागुन २१ गते हुने निर्वाचनले मात्रै समाधान गर्न सक्छ भन्ने भ्रममा बस्नु अनुचित भएको टिप्पणी गर्नुभएको छ ।

उहाँले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत लेख्दै भन्नुभएको छ ।  “मुलुकमा देखा परेको जटिल र गन्जागोल राजनीतिलाई ठीक पार्ने रामवाण फागुन २१ को निर्वाचन मात्र हो भनेर ढुक्क भएर बस्नु कदापि उचित हुन्दैन।”

मल्लका अनुसार, राजनीतिक संकटको जराभन्दा पनि गहिरो कारण भाद्र २३ र २४ गतेका घटनाहरूसँग गाँसिएको छ । उहाँले स्पष्ट रूपमा उल्लेख गर्नुभएको छ कि ती घटनाको मूल कारण ‘जेनजीको माग’ नै हो, र ती मागहरूलाई सम्बोधन नगरी देशलाई स्थिर दिशामा लैजान सकिँदैन ।

उहाँका शब्दमा  “राजनीतिमा अलिकति मात्र चासो राख्ने व्यक्तिले पनि थाहा पाइसकेको छ कि भाद्र २३ र २४ को घटना ‘जेनजीको माग’बाटै सुरु भएको हो। उक्त घटनाको पछाडि अन्य भित्री रहस्य भएपनि नभएपनि, जेनजीको मागहरुलाई सम्बोधन नगरेसम्म देशको राजनीति ठीक ठाउँमा नआउने निश्चित छ।”

मल्लले देशमा व्यापक राजनीतिक अविश्वास, आर्थिक अनिश्चितता र युवापुस्तामा फैलिँदो निराशाको पृष्ठभूमिमा नेताहरुलाई आत्ममूल्यांकन गर्न आग्रह गर्नुभएको छ । उहाँले चेतावनी दिंदै लेख्नुभएको छ । “अब ढिलो नगर, चेतना भया।”

उहाँको यस अभिव्यक्तिलाई सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चा गरिएको छ । धेरैले मल्लको टिप्पणीलाई “व्यावहारिक चेतावनी”का रूपमा लिएका छन् भने केहीले यसलाई आगामी राजनीतिक पुनर्संरचनाको संकेतको रूपमा पनि व्याख्या गरेका छन् ।

व्यवसायिक क्षेत्रका प्रमुख व्यक्तित्वका रूपमा मल्लले विगतमा पनि सरकार र राजनीतिक दलहरूलाई आर्थिक स्थिरता र नीति स्पष्टताका लागि निरन्तर सचेत गराउँदै आउनुभएको छ । अहिलेको उनको अभिव्यक्ति देशको समग्र राजनीतिक अवस्थाप्रति असन्तोष र सुधारको गहिरो चाहनाको प्रतिबिम्बका रूपमा हेरिएको छ ।

नेपाल चेम्बर अफ कमर्सका निबर्तमान अध्यक्ष मल्लले समग्र राजनीतिक वर्गलाई राष्ट्रिय सहमतिको बाटोमा फर्कन, जेनजीको मागको मूल भाव बुझ्न र जनभावनालाई प्राथमिकतामा राखी अघि बढ्न आग्रह गर्दै आफ्नो सन्देशलाई “राष्ट्रिय जिम्मेवारीको चेतावनी”का रूपमा प्रस्तुत गर्नुभएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend