आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नेपाल–कोरिया उद्यमी व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा प्रथम देउसी–भैलो कार्यक्रम भव्य रुपमा सम्पन्न

नेपाल–कोरिया उद्यमी व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा प्रथम देउसी–भैलो कार्यक्रम भव्य रुपमा सम्पन्न

 

४ कात्तिक, काठमाडौं । नेपाल–कोरिया उद्यमी व्यवसायी संघले आज कोरियन बीबीक्यु रेष्टुरेन्टमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा प्रथम देउसी–भैलो कार्यक्रम अत्यन्तै हर्षोल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ । दिउँसो १ बजे सुरु भएको कार्यक्रम ४ बजेसम्म उत्सवमय र रमाइलो माहोलमा निरन्तर चल्यो ।

नेपाल–कोरिया उद्यमी व्यवसायी संघले नेपाल र कोरियामा व्यवसायिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ गर्न निरन्तर क्रियाशील रहँदै आएको छ । यही सन्दर्भमा आयोजित यस कार्यक्रमले नेपाली चाडपर्वको मौलिकता र परम्परागत संस्कृतिलाई प्रवासी तथा उद्यमी समुदायमा झन् सजीव बनाएको छ । कार्यक्रममा संघका पदाधिकारी, सदस्यहरू, व्यवसायी, तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रमको आकर्षणको रूपमा देउसी–भैलोका गीत, नाच–गान र हाँस्य–विनोद प्रस्तुत गरियो । संघका संयोजक प्रेम गुरुङले आफ्नै सुमधुर स्वरमा लोक तथा आधुनिक गीतहरू प्रस्तुत गरी उपस्थित सबैलाई नचाएका थिए । उनको गायन र जोशिलो प्रस्तुति कार्यक्रममा उत्साह थप्ने मुख्य आकर्षण बनेको थियो ।

सांस्कृतिक कार्यक्रमसँगै सहभागीहरूले नेपाली परिकार सेलरोटी, अचार र विविध खाजाको स्वाद लिँदै आपसी मित्रता र एकतामा रमाएका थिए । उपस्थित सबैले देउसी–भैलोको माध्यमबाट नेपाली संस्कृतिको सौन्दर्य र एकताको सन्देश फैलाउने प्रतिबद्धता व्यक्त गरे ।

संघका प्रतिनिधिहरूले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र नियमित रूपमा आयोजना गर्ने योजना रहेको जानकारी दिए । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै वक्ताहरूले नेपाल र कोरियाबीचको आर्थिक, सांस्कृतिक तथा पर्यटन सम्बन्ध सुदृढ गर्न संघको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

सांस्कृतिक एकता, व्यवसायिक सम्बन्ध र आपसी सद्भावको वातावरणमा सम्पन्न यो कार्यक्रमले नेपाल–कोरिया उद्यमी व्यवसायी संघको गतिविधिलाई नयाँ ऊर्जा र प्रेरणा प्रदान गरेको सहभागीहरूको अभिव्यक्ति थियो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend