२७ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य गोपाल पौडेलले देशभरका प्रदेश सरकारहरू र मुख्यमन्त्रीहरूको मौनता र नैतिकहीनताको कडा आलोचना गरेका छन् । पौडेलले सोमबार आफ्नो फेसबुकमार्फत एक तीखो अभिव्यक्ति दिँदै हालै देशका सातै प्रदेशका मुख्यमन्त्री कार्यालय, मन्त्रालय र सभाहलहरूमा लागेको आगलागी र नष्ट भएको सरकारी संरचनाप्रति देखिएको शासकहरूको निर्लज्ज मौनतालाई प्रश्न गरेका छन् ।
उनले लेखेका छन्, “२०३० सालमा सिंहदरबार जलेपछि तत्कालीन प्रधानमन्त्री किर्तिनिधि विष्टले नैतिकताको आधारमा राजीनामा दिएका थिए । २०४३ सालमा रंगशालामा हावाहुरीले ज्यान गएको घटनापछि तत्कालीन शिक्षा मन्त्री केशर बहादुर विष्टले पनि नैतिक जिम्मेवारी लिएर राजीनामा दिए । तर आज सातवटै प्रदेशका मुख्यमन्त्री कार्यालय र सभाहलहरू खरानी भइरहँदा कसैको अनुहारमा लाजको छायाँ पनि छैन । यिनीहरूमा अलिकति पनि नैतिकता बाँकी छैन ।”
पौडेलले अझ कडाभाषामा लेखेका छन्, “खरानीमाथि बसेर शासनको नाटक गर्ने यी नैतिक हरामहरूलाई अब जनताले चिन्न थालेका छन् । पद र कुर्सी नै सबै होइन । इतिहास नै बनाउने हो भने जिम्मेवारी लिनुहोस्, राजीनामा दिनुहोस् । देशले फेरि नैतिकताको उदाहरण खोजिरहेको छ ।”
उनको पोस्ट केही घण्टामै सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर र प्रतिक्रिया प्राप्त भएको छ । धेरैले उनको भनाइप्रति समर्थन जनाउँदै हालको राजनीतिक वर्गप्रति आक्रोश प्रकट गरेका छन् । कतिपयले लेखेका छन् — “अब जनताले नै इतिहास रच्ने बेला आएको छ,” भने अरूले “गोपाल पौडेलको यो आवाज सम्पूर्ण देशको आवाज हो” भन्दै उनको समर्थनमा प्रतिक्रिया जनाएका छन् ।
देशको राजनीतिक परिवेश अहिले अस्थिर र अनिश्चित अवस्थामा पुगेको बेला पौडेलको यस्तो अभिव्यक्ति आएको हो । हालैको श्रृंखलाबद्ध आन्दोलन र आगलागीका घटनाले देशभर अशान्ति मच्चाइरहेको छ । तर राज्यका नेतृत्व तहबाट ठोस जिम्मेवारी वा नैतिक संकेत नदेखिँदा सर्वसाधारणमा निराशा बढेको छ ।
पौडेलले अन्त्यमा लेखेका छन्, “इतिहास फेरि लेख्न सकिन्छ, तर त्यसका लागि नैतिक साहस चाहिन्छ । पदमा बसिरहने होइन, जिम्मेवारी बोकेर देश र जनतालाई बचाउने हो ।”
उनको यो अभिव्यक्ति राप्रपा भित्र मात्र होइन, समग्र राजनीतिक वृत्तमै नैतिकता र जिम्मेवारीको सवाल पुनः उठाउने एउटा सन्देशको रूपमा हेरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend