२५ असोज, काठमाडौं ।जन सार्क समन्वय मञ्च नेपाल (गैसस)को कार्य समितिको बैठक आज बबरमहलस्थित साफ फाल्चामा सम्पन्न भएको छ । बैठक मञ्चका अध्यक्ष हरि बहादुर बिसीको सभापतित्वमा सम्पन्न भएको हो ।
बैठकमा मञ्चका पदाधिकारी, केन्द्रीय सदस्य तथा विभिन्न शाखा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले संस्थाको हालसम्मको गतिविधि, आर्थिक अवस्था, संगठन विस्तार र आगामी कार्ययोजना सम्बन्धी विस्तृत समीक्षा गरेका थिए ।
अध्यक्ष बिसीले आफ्नो सम्बोधनमा मञ्चले दक्षिण एशियाली क्षेत्रीय सहयोग (सार्क)का मूल्य र उद्देश्यलाई जनस्तरमा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याउँदै, क्षेत्रीय एकता र आपसी सद्भावका लागि नागरिकस्तरबाट ठोस कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले संस्थागत सुदृढीकरण, युवाको सहभागिता वृद्धि र अन्तर्राष्ट्रिय समन्वयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
बैठकले विभिन्न सामाजिक तथा विकास कार्यक्रमहरूमा साझेदारी, र सदस्य राष्ट्रहरूबीच जनस्तरमा सहकार्य बढाउने विषयमा समेत निर्णय गरेको जनाइएको छ । साथै, बैठकले हाल विश्व तथा क्षेत्रीय स्तरमा उत्पन्न भूराजनीतिक अवस्था, जलवायु परिवर्तन, र आपसी व्यापार विस्तारमा नागरिकस्तरको पहल कस्तो हुनसक्छ भन्ने विषयमा पनि गम्भीर छलफल गरेको थियो ।
बैठक एकताबद्ध र साझा दृष्टिकोणका साथ मञ्चको आगामी कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गर्दै समापन भएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend