मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

अब राजा र राजनीतिक दलबीच सर्वपक्षीय सहमति आवश्यकः हिन्दुवादी अभियन्ता प्रदीप विक्रम राणा

अब राजा र राजनीतिक दलबीच सर्वपक्षीय सहमति आवश्यकः हिन्दुवादी अभियन्ता प्रदीप विक्रम राणा

 

२४ असोज, काठमाडौं । हिन्दुवादी अभियन्ता प्रदीप विक्रम राणाले देशमा बढ्दै गएको भ्रष्टाचार, राजनीतिक अस्थिरता र जनआन्दोलनपछिको असन्तोषबारे तीव्र धारणा सार्वजनिक गरेका छन् । उनले भनेका छन्— “भ्रष्टाचारले सीमा नाघेकै कारण जेन्जी आन्दोलन उठ्यो र भ्रष्ट नेताहरू लखटिए, तर अहिले फेरि त्यही पुरानो प्रवृत्ति फर्किंदै गएको देखिन्छ ।”

राणाको भनाइमा, जेन्जी आन्दोलन केवल सडक प्रदर्शन होइन, राष्ट्रको आत्मसम्मानको पुनरुत्थान थियो। उनले स्मरण गरे, “२४ घण्टामै सत्ता उल्ट्याउने इतिहास बनाएको यो आन्दोलनले जनशक्ति कस्तो शक्तिशाली हुन्छ भन्ने प्रमाणित गर्‍यो।” उनका अनुसार, यो आन्दोलन जनताका पीडा र आक्रोशको परिणाम थियो, जुन भ्रष्टाचार, बेइमानी र नेताको अकर्मण्यताविरुद्धको जनजागरणका रूपमा जन्मिएको थियो ।

राणाले हालको अन्तरिम सरकारले जनताको भावना बुझ्न असफल भएको आरोप पनि लगाएका छन् । उनका अनुसार, “यो सरकार केवल चुनाव गराउनकै लागि बनेको जस्तो देखिन्छ । यदि यसले जेन्जी आन्दोलनका मागहरू पूरा गर्न सकेन भने यसको अस्तित्व नै अर्थहीन हुन्छ।”

उनले भने, “हामीले आन्दोलनमा रगत बगायौं, बलिदान दियौं, सहादत प्राप्त गर्यौं । आज पनि थुप्रै भाईबहिनी अस्पतालमा उपचाररत छन् । तर आन्दोलनका मागहरू आज पनि अधुरै छन् । यो जनताको विश्वासमाथिको खिल्ली हो।”

राणाले हालको राजनीतिक दलहरूप्रतिको जनअसन्तुष्टिलाई पनि स्पष्ट रूपमा चित्रण गरे । उनले भने, “राजनीतिक दलहरूले जनताको आशा मारेका छन् । जबसम्म राजा र राजनीतिक दलबीच सन्तुलित सहकार्य हुँदैन, तबसम्म देशको रक्षा हुन सक्दैन । राजा बाहेकको राष्ट्रिय सहमति अधुरो हुन्छ ।”

उनका अनुसार, देश अहिले गम्भीर मोडमा छ । “राजनीतिक दलहरूबीचको अविश्वास, विदेशी हस्तक्षेप र आर्थिक स्वार्थले देशलाई थिलोथिलो बनाएको छ,” उनले भने । “हामी कमजोर हुँदा विदेशी हस्तक्षेप बढ्छ, त्यसैले अब सबै शक्तिहरू मिलेर देश जोगाउने बेला आएको छ।”

राणाले सर्वपक्षीय बार्ताको आवश्यकता पनि जोड दिए । उनले भने, “राजा सहितका सबै राजनीतिक दलहरू, नागरिक समाज र आन्दोलनका प्रतिनिधिहरूबीच अब संवाद हुनैपर्छ । यही बाटोबाट मात्र देशको राजनीतिक संकटको दीर्घकालीन निकास सम्भव छ।”

त्यस्तै, उनले राजनीतिक दलहरूलाई निषेध गरेर मात्रै चुनाव सफल हुन नसक्ने चेतावनी दिए । “दलहरूलाई सहभागी नगराई गरिने कुनै पनि निर्वाचनले दिगो शान्ति दिन सक्दैन । जनप्रतिनिधि बिना बनाइने सरकार जनताको होइन, केवल शक्ति प्रदर्शनको साधन हुन्छ,” राणाले भने ।

 

भ्रष्टाचारविरुद्ध सबै नागरिकले ऐक्यबद्ध हुनुपर्ने उनको जोड छ । उनले भने, “यो देश भ्रष्टाचारले थिलथिलो भएको छ । ठूला ठेकेदारदेखि लिएर उच्च राजनीतिक तहसम्म लाञ्छित छन् । अब हामी सबै उठ्नैपर्छ— पार्टी, धर्म, जातभन्दा माथि उठेर ।”

उनले अन्त्यमा भने, “अब पनि हामी गम्भीर भयौं भने मात्र देश बच्छ । अहिलेको अवस्था केवल सरकार र विपक्षीबीचको संघर्ष होइन, यो राष्ट्रको अस्तित्वको प्रश्न हो ।”

राणाको यो अभिव्यक्ति आज खबरब्रेकिंग डटकमसँगको विशेष कुराकानीका क्रममा आएको हो । उनले जनताको बलिदानको सम्मान गर्दै सरकारलाई चेतावनी दिएका छन् कि यदि आन्दोलनका मागहरू बेवास्ता भए भने, पुनः जनविद्रोह असम्भव होइन।

“देश रहे मात्र हामी रहन्छौं, दल रहन्छन्,” राणाको अन्तिम भनाइमा यो भावनात्मक तर गम्भीर चेतावनी समावेश छ— “अब देशको रक्षा दलहरूले होइन, देशप्रेमीहरूले गर्नुपर्छ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend