आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

राजनीतिक संकटबीच देशभक्त नागरिकको खोजीमा नेपाली जनता दल

राजनीतिक संकटबीच देशभक्त नागरिकको खोजीमा नेपाली जनता दल

२१ असोज, काठमाडौं । देशको राजनीतिक अवस्था अहिले चरम संकटमा पुगेको छ । दलहरूबीचको अविश्वास, सत्ता संघर्ष र स्वार्थले गर्दा राष्ट्रको अस्तित्व नै संकटमा परेको बेला नागरिक स्तरबाट देशभक्त नेतृत्वको माग तीव्र बन्दै गएको छ ।

यही सन्दर्भमा नेपाली जनता दलका अध्यक्ष हरि चरण साहले देशप्रेम र एकताको बलमा नयाँ राजनीतिक दिशा खोज्ने अभियान सुरु गरेको बताएका छन् ।   उनका अनुसार अहिले दलहरू एकातिर र सरकार अर्को तिर विभाजित जस्तो देखिएको अवस्था अत्यन्तै चिन्ताजनक बनेको छ ।

“हामी देशभक्त नागरिकलाई खोज्दै पार्टीमा ल्याउने प्रयासमा छौं । देश बाँच्नु नै हाम्रो पहिलो कर्तव्य हो । जबसम्म देश रहन्छ, तबसम्म हामी सबै रहन्छौं । देश रहेन भने हाम्रो अस्तित्व पनि समाप्त हुन्छ,” अध्यक्ष साहले जोड दिए ।

साहका अनुसार नेपाली जनता दलले हाल मुलुकभर संगठन विस्तार, नागरिक संवाद र युवा सहभागितामार्फत राष्ट्रिय चेतना जागृत गर्ने अभियान अघि बढाइरहेको छ । उहाँले वर्तमान राजनीतिक दलहरूको आपसी कलह, भ्रष्टाचार र सत्ता मोहले राष्ट्र कमजोर बन्दै गएको भन्दै “अब जनताको पक्षमा सोच्ने र देशका लागि समर्पित नेतृत्वको आवश्यकता छ” भने ।

अध्यक्ष साहले मुलुकमा बिस्तारै बढ्दै गएको राजनीतिक निराशा र अविश्वासको वातावरण तोड्न नागरिक एकता नै मुख्य औजार हुने विश्वास व्यक्त गरे । “देश हाम्रो साझा घर हो, यसको रक्षा सबैको जिम्मेवारी हो । पार्टीभन्दा माथि उठेर देशलाई सोच्ने समय यही हो,”  उनले जनतालाई आह्वान गर्दै भने ।

नेपाली जनता दलले आगामी हप्ता ‘देश रहोस्, हामी रहौं’ अभियान सुरु गर्ने तयारी गरेको पनि जानकारी दिएको छ । उक्त अभियानमार्फत युवादेखि वृद्धसम्म सबै तहका नागरिकलाई राष्ट्रिय एकताको भावना जगाउने लक्ष्य राखिएको छ ।

अध्यक्ष साहले अन्त्यमा भने, “राजनीति जनताको सेवाको माध्यम हो, न कि व्यक्तिगत स्वार्थको । हामी सबैले मिलेर यो राष्ट्र पुनः विश्वास, इमान र देशप्रेमको मार्गमा अघि बढाउनुपर्छ ।”

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend