सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सरकारले तत्काल राहत र पुनःस्थापनाको काम अघि बढाउनुपर्छः अध्यक्ष ढकाल

सरकारले तत्काल राहत र पुनःस्थापनाको काम अघि बढाउनुपर्छः अध्यक्ष ढकाल

 

२० असोज, काठमाडौँ । देशका विभिन्न भागमा परेको अबिरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । निरन्तरको वर्षाले बाढी र पहिरो उत्पन्न हुँदा कयौं नागरिकको अकालमै ज्यान गएको छ भने हजारौं परिवार विस्थापित भएका छन् । कतै घर पहिरोले बगाएर नष्ट भएका छन्, कतै खेतबारी डुबानमा परेका छन् । बुढाबुढीदेखि बालबालिकासम्म सुरक्षित स्थानको खोजीमा त्राहिमाम् स्थिति सिर्जना भएको छ ।

बाढी र पहिरोले पुरिएर ज्यान गुमाउनेहरूको संख्या दिनानुदिन बढ्दै गएको छ । कतिपय ठाउँमा अझै पनि उद्धार कार्य जारी छ भने पहिरोले सडक अवरुद्ध हुँदा राहत सामग्री पुगोस् भन्ने चुनौती थपिएको छ । पूर्वीदेखि पश्चिमी पहाडी भूभागसम्म व्यापक क्षति पुगेको प्रारम्भिक विवरणहरू प्राप्त भएका छन् ।

यस दुःखद परिस्थिति प्रति पेशागत महासंघ नेपालका अध्यक्ष पुण्य प्रसाद ढकालले गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले खबरब्रेकिंग डटकमसँगको छोटो कुराकानीमा भन्नुभयो, “अबिरल वर्षाले देशभर पीडाको लहर ल्याएको छ । कोही बाढीले बगाएर, कोही पहिरोले पुरिएर ज्यान गुमाएका छन्, यो अत्यन्तै पीडादायक अवस्था हो । सरकारले तत्काल राहत र पुनःस्थापनाको काम अघि बढाउनुपर्छ ।”

अध्यक्ष ढकालले विपद्को बेलामा सबै नागरिक, कर्मचारी, राजनीतिक दल र संघसंस्थाहरूले एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँका अनुसार, “संकटको घडीमा कसैले पनि हेपथोप गर्नु हुँदैन, सहयोगी हातहरूको अहिले ठूलो खाँचो छ । सबैले आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्छ ।”

देशका धेरै ठाउँमा बाढीले बाटोघाटा भत्काएको छ, विद्युत् आपूर्ति अवरुद्ध भएको छ र संचार सेवा समेत प्रभावित भएको खबरहरू आएका छन् । यस्ता विपत्तिका क्षणमा सरकारी संयन्त्रले तत्काल उद्धार, राहत र पुनःस्थापनाको कार्यलाई प्राथमिकता दिनुपर्ने ढकालको भनाइ छ ।

अबिरल वर्षाले ल्याएको यो प्राकृतिक विपद् केवल एक क्षेत्रको समस्या होइन, सम्पूर्ण देशको साझा पीडा हो । बाढीपीडितलाई राहत र विस्थापितलाई पुनःस्थापनाको प्रभावकारी योजना तत्काल कार्यान्वयन गर्न नसके, यो संकट अझ गहिरो बन्न सक्ने अध्यक्ष ढकालको चेतावनी छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend