आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

विपद्को घडीमा एकजुट भई उद्धारमा खटिन कांग्रेस नेता खतिवडाको आग्रह

विपद्को घडीमा एकजुट भई उद्धारमा खटिन कांग्रेस नेता खतिवडाको आग्रह

 

१८ असोज, काठमाडौं । अविरल वर्षा र प्राकृतिक प्रकोपका कारण देशभर जनधनको क्षति बढ्दै गएका बेला नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले सबै नागरिकलाई एकताबद्ध भएर विपद् व्यवस्थापनमा जुट्न आग्रह गरेका छन्।

शनिबार उनले सार्वजनिक अपिल जारी गर्दै यो संकटपूर्ण अवस्थामा दलका कार्यकर्ता, जनप्रतिनिधि तथा सम्पूर्ण नागरिकलाई सक्रिय रहन आह्वान गरेका हुन्। उनले विशेषगरी उद्धार, राहत र सेवा कार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।

खतिवडाले विपद् व्यवस्थापनमा सत्य र आधिकारिक तथ्य मात्र सार्वजनिक गर्न पनि आग्रह गरेका छन्। उनका अनुसार, गलत सूचना वा अफवाहले जनतालाई झन् जोखिममा पार्न सक्छ, त्यसैले सूचना प्रवाहमा संयमता अपनाउन सबै पक्षलाई सचेत गराएका छन्।

उनले विपद्को समयमा राजनीतिक भिन्नता भन्दा पनि मानवीयता नै पहिलो हुनु पर्ने उल्लेख गर्दै, जो जहाँ छन् त्यहीँबाट सक्दो सहयोग गर्न प्रेरित गरेका छन्। “संकटलाई जित्न सामूहिक प्रयास नै औषधि हो,” खतिवडाले भनेका छन्।

उनको अपिलपछि स्थानीय तहका जनप्रतिनिधि र कार्यकर्ताहरू उद्धार र राहतमा सक्रिय हुन थालेको जनाइएको छ। संकटका घडीमा गरिएको यस किसिमको अपिललाई सर्वसाधारणले समेत स्वागत गरेको देखिन्छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend