१८ असोज, काठमाडौं । काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, नख्खु र धोबिखोलाको पानीको सतह निरन्तर बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले बाढी जोखिमग्रस्त क्षेत्रका बासिन्दालाई सुरक्षित राख्ने तयारी गरेको छ।
शुक्रबार बेलुकादेखि अविरल वर्षा जारी रहँदा खोलानालाहरू उफानिँदै गएपछि डुबानको आशंका तीव्र बनेको हो। यसै क्रममा महानगरपालिकाले आपत्कालीन अवस्थामा स्थानीयलाई सामुदायिक तथा निजी विद्यालयमा बसाल्ने योजना अघि सारेको छ।
महानगरको शिक्षा विभागले सार्वजनिक सूचना जारी गर्दै सबै विद्यालयलाई विपद् व्यवस्थापनको लागि सतर्क रहन निर्देशन दिएको छ। शौचालय, खानेपानी, सुरक्षित स्थान र प्राथमिक सहयोगको व्यवस्था तत्काल सम्भव हुने गरी विद्यालयहरूलाई तयारी अवस्थामा राख्न भनिएको छ।
महानगरको विपद् व्यवस्थापन विभागका अनुसार बागमती, विष्णुमती लगायतका खोलाको सतहलाई लगातार निगरानीमा राखिएको छ। सम्भावित जोखिम न्यूनीकरणका लागि विद्यालयहरूलाई उद्धार तथा राहतको अस्थायी केन्द्रका रूपमा प्रयोग गर्न सकिने तयारी गरिएको जनाइएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend