काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले तोकिएको वैधानिक भाडादरभन्दा बढी असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गरिने चेतावनी दिएका छन्।
चाडपर्व नजिकिँदै गर्दा यात्रुहरूबाट अत्यधिक भाडा असुल्ने र टिकटमा कालोबजारी गर्ने गुनासो बढ्दै गएपछि मन्त्री घिसिङले बुधबार यस्तो गतिविधि रोक्न सम्बद्ध पक्षलाई कडाइका साथ निर्देशन दिएका हुन्।
उनले चाडपर्वलाई नाफा कमाउने अवसरका रूपमा प्रयोग गर्नु गैरकानुनी मात्र नभई यात्रुको अधिकारमाथिको धक्का भएको बताए। “अहिलेको विषम परिस्थितिमा यातायात व्यवसायी र अन्य सरोकारवाला सबैले जिम्मेवार बन्दै यात्रुलाई सहज र सुरक्षित यात्रा सुनिश्चित गर्नुपर्छ,” मन्त्री घिसिङले भने।
यातायात मन्त्रालयले तोकेको भाडादरभन्दा बढी रकम असुल्ने वा टिकटमा कालोबजारी गर्ने जो कोही पनि कानुनी कारबाहीको दायरामा पर्ने चेतावनी दिँदै उनले चाडपर्वमा यात्रुलाई असुविधा नपर्ने वातावरण बनाउन सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend