आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

ओलीलगायत पाँच जनालाई विदेश भ्रमणमा रोक

ओलीलगायत पाँच जनालाई विदेश भ्रमणमा रोक

 

काठमाडौं । गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत पाँच जनालाई विदेश भ्रमणमा रोक लगाएको छ।

आयोगको बैठकले अनुसन्धानको दायरामा रहेका पाँच जनामाथि विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो। आयोगले आज जारी गरेको विज्ञप्तिमा पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृह सचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि विदेश जान रोक लगाउने उल्लेख गरिएको छ।

आयोगले भनेको छ, “भाद्र २३ र २४ गतेका घटनाको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका कारण निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्नहुन तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आयोगको स्वीकृतिबेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउन सम्बन्धित निकायमा पत्राचार गर्ने।”

त्यसैगरी, आयोगले उक्त घटनाको छानबिन प्रभावकारी रूपमा सम्पन्न गर्न विज्ञसहितको जनशक्ति आवश्यक देखिएको भन्दै त्यसको व्यवस्थापनका लागि गृह मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend