काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुण्डुमा सुरु भएको छ । हालैको ‘जेनजी आन्दोलन’ले ल्याएको राजनीतिक भूकम्पपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले गुण्डुमा डेरा जमाएका थिए । सत्ता हातबाट फुस्किएको करिब एक महिनापछि पहिलो पटक बसेको सचिवालय बैठकले विशेष राजनीतिक महत्त्व बोकेको छ ।
बैठकमा ओली निवास गुण्डु पुगेका नेताहरुले आन्दोलनपश्चात् पार्टीको भविष्य, संगठन पुनर्गठन, कार्यकर्तामाझ हराउँदै गएको विश्वास पुनःस्थापना गर्ने उपाय र सरकारप्रति हुने औपचारिक धारणा तय गर्ने एजेन्डामा छलफल गरिरहेका छन् ।
सत्ता गुमेपछि एमाले भित्र देखा परेको निराशा, अनुशासनहीनता र गुटगत गतिविधिलाई कसरी नियन्त्रण गर्ने भन्ने विषय बैठकको मूल केन्द्रमा रहेको बताइएको छ । साथै, अन्तरिम सरकारसँगको सम्बन्ध, विपक्षी भूमिकाको खाका, आगामी निर्वाचनमा पार्टीको सम्भावित रणनीति तथा आन्दोलनमा एमाले कार्यकर्ताले देखाएको असन्तोषलाई सम्बोधन गर्ने उपायबारे बैठकमा लामो बहस हुने अनुमान गरिएको छ ।
गुण्डुको वातावरणमा सुरु भएको यो बैठकलाई एमालेभित्र ‘पुनःउठानको मोड’का रूपमा हेरिएको छ । पार्टी अध्यक्ष ओलीले आफ्ना नजिकका नेताहरूसँग गोप्य परामर्श गर्दै संगठनलाई बलियो बनाउन र कार्यकर्ताको मनोबल फर्काउन रणनीतिक दस्तावेज सार्वजनिक गर्ने तयारीसमेत रहेको स्रोतले जनाएको छ ।
राजधानीको राजनीतिक नक्सा भक्तपुरतिर तानिएको यस बैठकमा एमालेले आगामी दिनमा कस्तो कदम चाल्ने भन्ने विषय केवल आफ्ना कार्यकर्तामाझ मात्र नभई आम जनतामाझ पनि उत्सुकताको विषय बनेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend