आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

शुभकामना तथा दसैं मिलन कार्यक्रम भव्यतापूर्वक सम्पन्न ।

शुभकामना तथा दसैं मिलन कार्यक्रम भव्यतापूर्वक सम्पन्न ।

 

 

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा “शुभकामना तथा दसैं मिलन कार्यक्रम–२०८२” भव्यतापूर्वक सम्पन्न भएको छ।

उक्त कार्यक्रम राजधानीको बानेश्वरस्थित इन्देणी फुडल्यान्डमा आयोजना गरिएको थियो। कार्यक्रममा काठमाडौँ जिल्लाभित्र सञ्चालन भइरहेका निजी तथा आवासीय विद्यालयका सञ्चालक, प्राध्यापक, शिक्षक–शिक्षिका, अभिभावक प्रतिनिधि तथा शिक्षा क्षेत्रमा सक्रिय व्यक्तिहरूको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रमको अध्यक्षता एन–प्याब्सन काठमाडौँ जिल्ला कार्यसमितिका अध्यक्ष श्री अमृतकुमार खड्काले गर्नुभएको थियो भने, एन–प्याब्सनका केन्द्रीय अध्यक्ष श्री सुबास न्यौपाने प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। साथै एन–प्याब्सनका वरिष्ठ उपाध्यक्ष, महासचिव, अन्य पदाधिकारीहरू तथा पूर्वअध्यक्षहरू विशेष अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले आगामी दिनमा निजी तथा आवासीय विद्यालयहरूले शिक्षा क्षेत्रमा खेल्ने भूमिकाबारे प्रकाश पार्दै, “शिक्षा भनेको मात्र ज्ञान हस्तान्तरण नभई जिम्मेवारी र मूल्य मान्यता निर्माण गर्ने प्रक्रिया हो, त्यसैले दशैंजस्ता पर्वले हामीलाई एकताबद्ध गर्दै समाजलाई सकारात्मक सन्देश दिन मद्दत गर्छ,” भन्नुभयो। उहाँले शिक्षामा गुणस्तरीय सुधार ल्याउन निजी क्षेत्रले खेलेको योगदानको प्रशंसा गर्दै शिक्षा क्षेत्रलाई अझ पारदर्शी र उत्तरदायी बनाउन आग्रह गर्नुभयो।

त्यसैगरी अध्यक्ष खड्काले उपस्थित अतिथिहरूलाई स्वागत गर्दै यस प्रकारका मिलन कार्यक्रमहरूले सदस्यबीच आपसी विश्वास र आत्मीयता बढाउने उल्लेख गर्नुभयो। उहाँले “शिक्षा क्षेत्रमा देखिएका चुनौतीलाई समाधान गर्न एकताको खाँचो छ, यस्ता अवसरहरूले हामीलाई नयाँ उर्जा र संकल्प दिलाउँछन्” भन्नुभयो।

कार्यक्रममा विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै दशैंले नेपाली समाजमा ल्याउने एकता, मेलमिलाप र सहकार्यका सन्देशलाई जोड दिए। उनीहरूले शिक्षा क्षेत्रलाई थप गुणस्तरीय, जीवनमुखी र समयसापेक्ष बनाउनुपर्नेमा एकमत व्यक्त गरे।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend