९ असोज,काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आज (बिहीबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने र त्यसपछि साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको हो ।
‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी कार्कीले प्रधानमन्त्री पद सम्हालेपछि पहिलो पटक राष्ट्रलाई सम्बोधन गर्न लागेकी हुन् ।
गत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्की अन्तरिम सरकारको नेतृत्वका लागि प्रधानमन्त्री नियुक्त भएकी थिइन् । भदौ २३ र २४ गते भएको ऐतिहासिक ‘जेनजी’ आन्दोलनको जगमा अन्तरिम सरकार गठन गरिएको हो ।
कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचनको घोषणा गरिसकेको छ । हालसम्म उनको नेतृत्वमा तेस्रो पटक मन्त्रिमण्डल विस्तार भइसकेको छ भने वर्तमान सरकारको मुख्य प्राथमिकता आगामी छ महिनाभित्र अर्थात् फागुन २१ गतेसम्म निर्वाचन सम्पन्न गर्नु रहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend