आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

अब सुधार नगरे आन्दोलनको आँधीबेहरी फेरि आउँछः आरके ठाकुर

अब सुधार नगरे आन्दोलनको आँधीबेहरी फेरि आउँछः आरके ठाकुर

 

 

८ असोज, काठमाडौं । भ्रष्टाचार विरुद्ध नेपालका संस्थापक अध्यक्ष आरके ठाकुरले २०४७ सालदेखि हालसम्म सार्वजनिक पदमा आसीन भएका सबै नेता, मन्त्रीदेखि कर्मचारीसम्मको सम्पत्ति छानबिन गर्नुपर्ने कडा माग गरेका छन् । उनले दोषी ठहरिएकालाई कानुनी कारवाही गरेर जेलमा कोच्नुपर्ने र यसलाई पहिलो एजेन्डा बनाउँदै अन्तरिम सरकारले तत्काल काम सुरु गर्नुपर्ने बताएका छन् ।

खबर ब्रेकिङ डटकमसँगको विशेष कुराकानीमा उनले भ्रष्टाचारकै कारण मुलुक थिलथिलो बनेको भन्दै अब सुधारको अभियान आरम्भ नगरे देश फेरि आन्दोलन र जेन्जीको उदयतर्फ धकेलिन सक्ने चेतावनी दिए । उनका अनुसार, नयाँ अन्तरिम सरकारलाई कम्तीमा दस वर्षसम्म चुनावबिनै निरन्तर शासन गर्ने जिम्मेवारी दिनुपर्नेछ । “चुनावले होइन, दीर्घकालीन स्थायित्व र कठोर कानुनी कारवाहीले मात्र यो देश सुधारिन्छ,” ठाकुरले भने ।

उनले नेपाल एक समय राजा वीरेन्द्रको पालामा कृषि प्रधान मुलुक रहेको उल्लेख गर्दै अहिले रेमिट्यान्समा निर्भर बनेको अवस्थालाई चिन्ता व्यक्त गरे । “रेमिट्यान्सले तात्कालिक रुपमा अर्थतन्त्र धान्न सक्छ, तर यसले देशको दीर्घकालीन भविष्य सुरक्षित गर्न सक्दैन,” उनले भने । उनले कृषिलाई पुनः प्राथमिकतामा ल्याई मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए ।

पुराना राजनीतिक दल र नेताहरू अब देशलाई सुधार गर्ने क्षमता गुमाइसकेको ठहर गर्दै उनले भ्रष्ट नेता र कर्मचारीको ‘जन्म’ नै भएको आरोप लगाए । उनका अनुसार, अब पुराना दल समाप्त भई नयाँ पुस्ताका युवाले नेतृत्व लिनुपर्ने बेला आएको छ । “देश युवाले चलाउनु पर्छ, पुरानो नेतृत्वले विगतमा देखाएको असफलताको बाटो दोहोर्याउन हुन्न,” ठाकुरले स्पष्ट रूपमा चेतावनी दिए । उनले अन्त्यमा भने, “अब सुधार नगरे आन्दोलनको आँधीबेहरी फेरि आउँछ, त्यसैले यो ऐतिहासिक घडीमा राष्ट्रको लागि कठोर तर निर्णायक कदम चाल्नैपर्छ ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend