८ असोज, काठमाडौं । प्रधानमन्त्रीको कार्यालयमा नेपालको नक्सा नराखिएको विषयमा व्यापक जनगुनासो उठेको छ । सामाजिक सञ्जालमार्फत् नागरिकहरूले सरकारको यसप्रति गम्भीर ध्यानाकर्षण गराइरहेका बेला राजनीतिज्ञ तथा समाजसेवी सोवित उप्रेतीले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
उप्रेतिले आफ्नो फेसबुकमार्फत् प्रधानमन्त्रीको कार्यालयजस्तो सर्वोच्च कार्यकारी निकायमा नेपालको आधिकारिक नक्सा नदेखिनु दुःखद् र लज्जास्पद भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, “देश र जनता पछि मात्र तपाईहरूको पद हो, त्यसैले कार्यालयमा तत्काल देशको नक्सा राख्नुपर्ने छ ।”
उनले नक्सा कार्यालयमा मात्र नभई, सबै सरकारी कार्यालय, विद्यालय तथा सार्वजनिक संस्थामा पनि प्रष्ट रूपमा देखिने गरी राखिनुपर्नेमा जोड दिएका छन् । “नक्सा भनेको केवल कागजमा कोरिएको भू–भाग होइन, यो राष्ट्रिय स्वाभिमान र अस्तित्वसँग जोडिएको प्रतीक हो,” उप्रेतीले भनेका छन् ।
यस विषयमा सामाजिक सञ्जालमा सर्वसाधारण नागरिकले पनि सरकारप्रति असन्तोष प्रकट गरेका छन् । कतिपयले यसलाई सरकारको लापरबाही भनेका छन् भने कतिपयले यो राष्ट्रप्रतिको संवेदनशीलताको कमी भएको टिप्पणी गरेका छन् । अब प्रधानमन्त्रीको कार्यालयले जनगुनासोलाई कत्तिको गम्भीरतापूर्वक लिन्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend