आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

चाडपर्वमा सहजताः सार्वजनिक यातायातका लागि रुट परमिट खुला

चाडपर्वमा सहजताः सार्वजनिक यातायातका लागि रुट परमिट खुला

 

 

६ असोज,काठमाडौं । यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई चाडपर्वको समयमा सहज र व्यवस्थित बनाउन आजदेखि देशभर रुट परमिट (अनुमति) खुला गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार अब यात्रुवाहक सार्वजनिक सवारी साधनले छुट्टै रुट लिनुपर्ने बाध्यता रहने छैन, तर निषेधित बाटोमा भने सो प्रतिबन्ध यथावत् रहनेछ ।

रुट परमिट खुला गरेसँगै यात्रुवाहक सार्वजनिक सवारीसाधनले अब गन्तव्यसम्म सीधा सञ्चालन गर्न सक्नेछन् । तर कुनै बाटोको विशेष प्रकृतिका कारण सो मार्गमा ठूला वा असंगत सवारीसाधन चलाउन निषेध गरिएको नियम भने कायम रहने महासंघले जनाएको छ ।

खासगरी विजयादशमी, तिहार र छठजस्ता ठूलो चाडपर्वका बेलामा घरतिर यात्रुहरू आकस्मिक रूपमा बढ्ने भएकाले असोज २२ गतेसम्म रुट परमिट खुला राखिएको अध्यक्ष स्वाँरले जानकारी दिनुभयो । साथै, सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले अनिवार्य टिकट लिनुपर्ने नियम पनि महासंघले स्पष्ट पारेको छ ।

यसअघि सरकारले चाडपर्वको समयमा खाद्यान्नसहित अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारी बाहेकका ठूला ट्रेलर तथा मालवाहक सवारीलाई नारायणघाट–काठमाडौं सडकखण्डमा आजदेखि पूर्णिमासम्म सञ्चालन नगर्ने निर्णय गरिसकेको छ । यस कदमले यात्रुवाहक सवारी सहज र सुरक्षित रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend