असोज १, काठमाडौं । सरकारले आज (बुधबार) असोज १ गते देशव्यापी शोक बिदा दिएको छ। भदौ २३ र २४ गते भएको ‘जेन जी’ आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलीस्वरूप सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शोक बिदा दिने निर्णय गरेको थियो।
सरकारले मृतकलाई शहीद घोषणा गर्दै उनीहरूको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ। साथै, मृतकका परिवारलाई जनही १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था गरिएको छ। क्षतिपूर्तिमा १० लाख रुपैयाँ राहत तथा पाँच लाख अन्त्येष्टि खर्च समावेश गरिएको छ।
घाइतेहरूको निःशुल्क उपचार गर्ने र दुर्गम क्षेत्रमा शव पुर्याउन हेलिकप्टर वा सवारीसाधन निःशुल्क उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ। यस्तै, शहीदहरूको योगदान स्मरण गर्न ‘जेन(जी जागरण स्मरण पार्क’ निर्माण गर्ने घोषणा गरिएको छ।
यसैबीच मंगलबार ज्यान गुमाएका शहीदहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि शवयात्रा पशुपति आर्यघाटसम्म पुर्याइएको थियो। अन्त्येष्टिमा गृहमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याल र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ लगायतका मन्त्रीहरूको उपस्थिति थियो। मन्त्रीहरूले मृतकको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।
‘जेन जी’ आन्दोलनका क्रममा देशभर ७२ जनाले ज्यान गुमाएका थिए भने दुई हजार ३१६ जना घाइते भएका थिए। हाल पनि विभिन्न अस्पतालमा २८३ जना घाइते उपचाररत छन् भने बाँकी निको भई घर फर्किएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend