२९ भदौं, काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा मारिएका नागरिकलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतवार पदभार ग्रहण कार्यक्रमकै क्रममा यो घोषणा गर्दै शहीद परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइने प्रतिवद्धता जनाएकी हुन्।
प्रधानमन्त्री कार्कीले आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार सुनिश्चित गर्न स्वास्थ्य संस्थाहरुलाई तत्काल व्यवस्था मिलाउन निर्देशन दिएकी छिन्। उनका अनुसार, अहिलेसम्म देशभर ७२ जनाको मृत्यु भएको पुष्टि भएको छ।
मृतकमध्ये आन्दोलनकारीतर्फ ५९ जना रहेका छन् भने प्रहरीतर्फ ३ जनाले ज्यान गुमाएका छन्। त्यस्तै, कारागार तोडफोड तथा झडपका घटनामा १० कैदीको मृत्यु भएको जानकारी दिइएको छ। हालसम्म १३४ प्रदर्शनकारी र ५७ जना प्रहरी उपचाररत छन्।
मुख्यसचिव एकनारायण अर्यालले सिंहदरबारमा आयोजित पदभार ग्रहण कार्यक्रममा यस सम्बन्धी तथ्यांक सार्वजनिक गरेका थिए। सरकारले शान्तिपूर्ण आन्दोलनमा मारिएका नागरिकको बलिदानलाई ऐतिहासिक महत्व दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend