आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

अमेरिकी दूतावास नेपालको अन्तरिम सरकारसँग सहकार्य गर्न तयार

अमेरिकी दूतावास नेपालको अन्तरिम सरकारसँग सहकार्य गर्न तयार

 

२९ भदौं,काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नेपालको नयाँ अन्तरिम सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै दूतावासले हालैको राजनीतिक संकटपछि शान्तिपूर्ण समाधानतर्फ अघि बढ्न सफल भएको नेपालको प्रयासलाई स्वागत गरेको हो ।

जेनजी आन्दोलनका क्रममा विगत हप्ता भएका दुखद घटनाप्रति दूतावासले गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ, “यो कठिन समयमा हामी नेपाली जनतासँग ऐक्यबद्ध छौँ ।”

दूतावासले अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नियुक्त हुनु, राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको पहल तथा युवा नेताहरूले पुर्‍याएको योगदान प्रशंसायोग्य रहेको उल्लेख गरेको छ ।

त्यस्तै नेपाली सेनाले संक्रमणकाल सहज बनाउन खेलेको भूमिकाप्रति पनि अमेरिकी दूतावासले सम्मान व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, “प्रधानसेनापति अशोक राज सिग्देलको नेतृत्वमा नेपाली सेनाले नागरिक सरकार पुनर्स्थापनामा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।”

अन्तरिम सरकारले आगामी केही महिनाभित्रै निर्वाचनको तयारी गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको अवस्थामा अमेरिकाले आवश्यक सहयोग र सहकार्यका लागि तयार रहेको दूतावासले जनाएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend