आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

जेनजी आन्दोलनमा तोडफोड, लुटपाट र आगजनीमा संलग्नहरूलाई कारबाही गर्न प्रहरी सक्रिय

जेनजी आन्दोलनमा तोडफोड, लुटपाट र आगजनीमा संलग्नहरूलाई कारबाही गर्न प्रहरी सक्रिय

फाइल तस्विर

२९ भदौं,काठमाडौँ । २३ र २४ भदौमा काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा भएको जेनजी विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी, लुटपाट, तोडफोड र अन्य अप्रिय घटनामा संलग्न दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन नेपाल प्रहरीले सक्रियता देखाएको छ । यसका लागि प्रहरीले आम नागरिकसँग सबुत प्रमाण उपलब्ध गराउन अनुरोध गरेको छ ।

शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन एक्कासि हिंसात्मक मोड लिँदा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका भौतिक संरचनादेखि शीर्ष नेताका निवास र प्रदेश, जिल्ला र पालिकाका विभिन्न कार्यालयसम्म क्षति पुगेको छ ।

प्रदर्शनका क्रममा भएका अप्रिय घटना र त्यससँग सम्बन्धित तस्बिर, भिडिओ तथा सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीहरू nepalpoliceinfo@gmail.com मा पठाएर सहयोग गर्न सकिने प्रहरीले जनाएको छ । सूचनादाताको गोपनीयता कायम राखिने स्पष्ट पारिएको छ ।

प्रदर्शनका क्रममा उच्छृङ्खल समूहले सुरक्षा निकायका कार्यालयमा समेत आगलागी र तोडफोड गर्दै हतियार, सञ्चार साधन र अन्य भौतिक सामग्री लुटपाट गरेका थिए । प्रहरीले नियन्त्रणमा लिइएका वा फेला परेका सामग्रीहरू स्थानीय प्रहरी कार्यालय, प्रहरी कन्ट्रोल १००, टोलफ्री नं. १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नम्बर ९८५१२९३४५९ मा सम्पर्क गरी फिर्ता गर्न सकिने जनाएको छ । साथै, नियन्त्रणमा लिइएका प्रहरी पोसाकको दुरुपयोग नगर्न सर्वसाधारणलाई चेतावनी दिइएको छ ।

अन्तरिम सरकार गठनसँगै सामाजिक सञ्जालमा आन्दोलनका तस्बिर र भिडिओहरू भाइरल भइरहेका छन् । प्रहरी यी सामग्री र सीसीटीभी फुटेजको आधारमा संलग्न व्यक्तिहरूलाई छिट्टै पक्राउ गर्ने तयारीमा छ । गत १५ चैतमा राजावादी आन्दोलनका क्रममा पनि सामाजिक सञ्जाल र स्मार्टफोनमार्फतै संलग्न व्यक्तिहरू पहिचान गरी पक्राउ गरिएको थियो, र यसपटक पनि सोही मोडल अपनाइने भएको छ ।

आन्दोलनको फाइदा उठाउँदै अवाञ्छित समूहहरूले सरकारी तथा निजी कार्यालय र व्यक्तिका घरव्यवसायमा पसेर लुटपाट तथा आगजनी गरेका थिए । यसैबीच विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले लुटिएका वा चोरी भएका सामग्री फिर्ता गर्न सार्वजनिक सूचना जारी गरिरहेका छन् । कतिपय कार्यालयले सामाजिक सञ्जाल र सीसीटीभी फुटेजमार्फत संलग्न व्यक्ति पहिचान भइसकेको जनाएका छन् ।  यस्तै, भाटभटेनीसहितका व्यावसायिक प्रतिष्ठानहरूले समेत लुटपाटमा हराएका सामान फिर्ता गर्न आग्रह गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend