२७ भदौं, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्त गर्दै शुक्रबार पद तथा गोपनीयताको शपथ खुवाएका छन्।
जेन–जी आन्दोलनको प्रमुख मागअनुसार कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्न नियुक्त गरिएको हो। संविधानको धारा ६१ को उपधारा ४ को प्रावधानअनुसार आगामी ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने गरी उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
यससँगै नेपालमा पहिलोपटक महिला प्रधानमन्त्रीको पदमा सुशीला कार्की पुगेकी छिन्। यसअघि उनी सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिइन्।
केपी शर्मा ओलीको सत्ताबाट बहिर्गमनपछि नेतृत्वको खोजी भइरहेका बेला कार्कीलाई जिम्मेवारी दिइएको हो। संविधानमा उल्लेख भएअनुसार राष्ट्रपतिको प्रमुख कर्तव्य संविधानको पालन–संरक्षण गर्नु र राष्ट्रिय एकताको प्रवर्द्धन गर्नु भएकाले सोही आधारमा कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको बताइएको छ।
राष्ट्रपति कार्यालयका अनुसार आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठन हुने छ। उक्त मन्त्रिपरिषद्ले गर्ने सिफारिसका आधारमा संसद् विघटन गर्ने प्रक्रिया अघि बढाइने भएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend