आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सुशीला कार्की अन्तरिम सरकारको प्रमुख बन्ने, राति ९ बजे शपथ गराउने तयारी

सुशीला कार्की अन्तरिम सरकारको प्रमुख बन्ने, राति ९ बजे शपथ गराउने तयारी

 

२७ भदौं, काठमाडौं । मुलुकमा देखिएको असामान्य राजनीतिक परिस्थितिपछि अन्ततः अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गर्ने सहमति जुटेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै अन्तरिम सरकार प्रमुखमा नियुक्त गर्ने र राति ९ बजे शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयका प्रेस विज्ञ किरण पोखरेलले जानकारी दिएका छन्।

यसअघि नयाँ सरकार गठनबारे छलफलका लागि कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्याल राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए। छलफलपछि कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति बनेको हो।

संसद् विघटन गर्ने वा नगर्ने भन्ने विवादमा भने प्रारम्भिक रूपमा सहमति जुट्न सकेको थिएन। तर अन्ततः संविधानको व्याख्या र तत्कालीन राजनीतिक अवस्थालाई मध्यनजर गर्दै संसद् विघटन गर्ने सहमति समेत बनेको स्रोतले जनाएको छ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको तीव्र दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए। असामान्य परिस्थितिलाई कारण देखाउँदै दिएको राजीनामा राष्ट्रपति पौडेलले सोही दिन स्वीकृत गरेका थिए।

यससँगै मुलुक अन्तरिम सरकारको चरणमा प्रवेश गरेको छ भने कार्की नेपालको इतिहासमा अन्तरिम सरकारको नेतृत्व गर्ने पहिलो महिला प्रमुख बन्ने भएकी छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend