आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

जेनजी आन्दोलनप्रति पर्यटक यातायात व्यवसायी संघको ऐक्यबद्धता

जेनजी आन्दोलनप्रति पर्यटक यातायात व्यवसायी संघको ऐक्यबद्धता

 

२६ भदौ,काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी संघले जेनजी पुस्ताले सुरु गरेको आन्दोलनलाई देश परिवर्तनको नयाँ अध्यायको सुरुवातका रूपमा व्याख्या गर्दै ऐक्यबद्धता जनाएको छ । संघका अध्यक्ष भिम बहादुर घोले तामाङले जारी गरेको प्रेस विज्ञप्तीमा स्वतन्त्रता, निष्पक्ष न्याय र भ्रष्टाचारमुक्त नेपालको निर्माणका लागि बलिदान भएका सहिद युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै, शोकाकुल परिवारप्रति गहिरो समवेदना र आन्दोलनका क्रममा घाइते भएकाहरूप्रति शीघ्र स्वास्थ्यलाभको शुभकामना प्रकट गरिएको छ ।

संघले विज्ञप्तीमार्फत नेपालको पर्यटन व्यवसाय विगतमा भोगेका कठिन परिस्थिति र बर्तमान संकटबीचको समानान्तर अवस्था स्मरण गराएको छ । २०७२ सालको महाभूकम्प र त्यसपछि आएको कोभिड–१९ महामारीका कारण पर्यटक यातायात क्षेत्र प्रत्यक्ष मारमा परेको स्मरण गर्दै संघले भनेको छ– “यी तमाम विपत्ति र व्यवधान पार गर्दै बिगतदेखि अहिले सम्म पर्यटन व्यवसाय क्रमशः तंग्रिंदै आएको छ । तर हाल देश परिवर्तनका लागि भइरहेको संघर्षले पर्यटन क्षेत्र पनि अछुतो रहन सकेको छैन ।”

पर्यटन व्यवसायी संघले विशेषगरी नेपालको मुख्य पर्यटक सिजनको प्रारम्भमै भएका घटनाक्रमले पर्यटन क्षेत्रलाई गम्भीर असर पार्ने यथार्थताप्रति चिन्ता व्यक्त गरेको छ । विज्ञप्तीमा भनिएको छ– “पर्यटन क्षेत्रमा थप क्षति हुन नदिन हामी सबै व्यवसायीहरू शान्त, संयमित र चनाखो रहन जरुरी छ । देशभित्र शान्तिपूर्ण समाधान खोजी गर्न जेनजी पुस्ता, नागरिक समाज, संघसंस्था र पर्यटन व्यवसायीहरू सचेत भएर सकारात्मक योगदान दिन सक्नेछन् भन्ने दृढ विश्वास छ ।”

साथै, संघले देशलाई सामान्यीकरण तर्फ अगाडि बढाउन कानुनी शासन, शान्ति–सुरक्षा र नागरिकको जनधनको संरक्षण गर्न सम्पूर्ण सुरक्षा निकायहरूलाई आफ्नो भूमिकामा ईमानदारीपूर्वक खटिन हार्दिक अनुरोध गरेको छ ।

अध्यक्ष घोलेले जारी गरेको विज्ञप्तीमा भनिएको छ– “संघर्ष र परिवर्तनका प्रक्रियामा पर्यटन क्षेत्र प्रत्यक्ष असरमा पर्न सक्ने भएकाले हामी सबै मिलेर संकट व्यवस्थापनमा योगदान गर्नुपर्छ । देशमा स्थायित्व र सुशासन कायम भयो भने मात्र पर्यटन व्यवसायले दीर्घकालीन विकास गर्न सक्छ ।”

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend