आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पेशागत महासंघ नेपालद्वारा जेनजी आन्दोलनप्रति ऐक्यबद्धता, शान्तिपूर्ण आन्दोलनमा गोली चलाउनेलाई कारबाहीको माग

पेशागत महासंघ नेपालद्वारा जेनजी आन्दोलनप्रति ऐक्यबद्धता, शान्तिपूर्ण आन्दोलनमा गोली चलाउनेलाई कारबाहीको माग

 

२६ भदौ,काठमाडौं । पेशागत महासंघ नेपालले राजधानीमा जेनजी युवाहरूले सञ्चालन गरेको आन्दोलनमा अनाहकमा मृत्यु हुने युवाप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै, आन्दोलनका क्रममा गोली चलाउने जिम्मेवारहरूमाथि कडा कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरेको छ ।

महासंघका अध्यक्ष पुण्य प्रसाद ढकालद्वारा जारी विज्ञप्तीमा भनिएको छ– “सामाजिक सञ्जाल बन्द गर्नु हुँदैन र सुशासन कायम हुनुपर्छ भन्ने मागसहित २०८२ भाद्र २३ गते काठमाडौँमा भएको आन्दोलनमा ज्यान गुमाउने जेनजी युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । घाइते युवाहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दछौं, साथै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।”

भदौ २४ गतेको आन्दोलनमा षड्यन्त्रपूर्वक घुसपैठ गरी सरकारी तथा निजी संरचनामा आगजनी, तोडफोड हुनु र त्यसैबीच युवाहरूको जीवन गुमाउनु दुर्भाग्यपूर्ण भएको महासंघले जनाएको छ । विज्ञप्तीमा भनिएको छ– “सम्माननीय प्रधानमन्त्रीले राजीनामा दिइसकेका छन् र राष्ट्रपतिबाट स्वीकृत भइसकेको सन्दर्भमा अब नयाँ बन्ने सरकारले जेनजी युवाहरूको मागलाई सम्बोधन गर्नु प्रमुख जिम्मेवारी हो । भत्किएका र डढेका सरकारी संरचनाको पुनर्निर्माण तथा शान्ति–सुरक्षा कायम गर्नु तत्कालको दायित्व हो ।”

संविधानको मर्मअनुसार जेनजी युवाहरूको सहभागितासहित नयाँ सरकार निर्माण गर्नुपर्नेमा महासंघले जोड दिएको छ । विज्ञप्तीमा संसदीय व्यवस्थामा आवश्यक सुधार गर्दै लोकतन्त्रलाई सुदृढ बनाउनुपर्ने उल्लेख छ । महासंघले भनेको छ– “जेनजी युवाहरूको माग लोकतन्त्र समाप्त गर्ने होइन, बरु लोकतन्त्रलाई बलियो बनाउनका लागि हो । त्यसैले सरकारले शीघ्र माग सम्बोधन गरी संविधानसम्मत लोकतान्त्रिक प्रणालीलाई अगाडि बढाउनुपर्ने हुन्छ ।”

पेसागत महासंघ नेपालले सरकारसँगै सम्पूर्ण नेपाली जनतालाई पनि संविधान र कानुनको लयमा देश अघि बढाउन एकताबद्ध भएर लाग्न हार्दिक अपिल गरेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend