१८ भदौ, काठमाडौं । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपरान्ह १ बजे सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दैछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पनि पढेर सुनाइनेछ ।
प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘जलस्रोत विधेयक’ सम्बन्धमा राष्ट्रिय सभाबाट आएको सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यक्रम छ ।
त्यसैगरी, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ ।
यससँगै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्नेछ । सो बैठकमा समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदन तथा आव २०८२/८३ को वार्षिक कार्य योजनाको मस्यौदामाथि छलफल हुने कार्यक्रम तय गरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend