१४ भदौं, काठमाडौं । नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पाले मदिरा व्यवसायलाई बुझेर मात्र यस क्षेत्रमा प्रवेश गर्नुपर्ने सुझाव दिनुभएको छ । काठमाडौंमा सम्पन्न दशौं बार्षिक साधारण सभा तथा पाचौं अधिवेशनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष शेर्पाले मदिरा व्यवसाय निकै चुनौतीपूर्ण र जोखिमपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले कर बुझ्नुस्, भ्याट बुझ्नुस्, अनि मात्र यो व्यवसायमा आउनुस् । नबुझी हतारमा प्रवेश गर्दा धेरै जना थाक्छन्, रिनमा डुब्छन् र अन्ततः व्यवसाय नै धरापमा पर्छ ।”
अध्यक्ष शेर्पाले मदिरा व्यवसायमा लगानी निकै ठूलो हुने भएकाले सुरुवातमै पर्याप्त जानकारी र तयारी आवश्यक पर्नेमा जोड दिनुभयो । उहाँले उधारो प्रथाले यस क्षेत्रमा अझ ठूलो संकट ल्याउने भन्दै सम्भव भएसम्म नगद कारोबारलाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । “उधारोमा व्यवसाय गर्दा सजिलै डुब्छ, त्यसैले सावधान हुन आवश्यक छ,” उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा आफ्नो कार्यकालमा महासंघको केन्द्रिय कार्यालय स्थापना भएको उल्लेख गर्दै अध्यक्ष शेर्पाले यसलाई सबैभन्दा ठूलो उपलब्धि भएको बताउनुभयो । उहाँका अनुसार मदिरा व्यवसाय अझै पनि सरकारको नजरमा गम्भीरतापूर्वक नपरेको र यस पेसालाई आवश्यक समर्थन नपाएको कारण व्यवसायीहरूले अतिरिक्त समस्या खेपिरहेको पनि उल्लेख गर्नुभयो ।
“मैले धेरै वर्ष यस क्षेत्रमा बिताएको छु, धेरै अनुभव बटुलेको छु । यो पेशा चुनौतीपूर्ण छ तर सम्भावना पनि उत्तिकै छ,” अध्यक्ष शेर्पाले भन्नुभयो । उहाँले व्यवसायीहरूलाई जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह गर्दै महासंघले पनि व्यवसायीहरूको हित र अधिकारका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend