६ भदौं, काठमाडौं । नेपाल टुरिष्ट भेहिकल एशोसिएसनको २२औँ वार्षिक साधारण सभा हिजो भाद्र ५ गते राजधानीको लाजिम्पाटस्थित होटल शंकरमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा पर्यटन मन्त्री बद्री प्रसाद पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो । त्यस्तै, नेपाल सरकारका विभिन्न निकायका पदाधिकारी, पर्यटन व्यवसायसँग सम्बन्धित संघ–संस्थाका प्रतिनिधि तथा पर्यटन क्षेत्रमा सक्रिय व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
साधारण सभामा एशोसिएसनले विगत वर्षमा सम्पन्न गरेका गतिविधि, आगामी वर्षका कार्यक्रम तथा पर्यटन व्यवसायलाई थप सुदृढ बनाउनुपर्ने योजनाबारे विस्तृत छलफल गरिएको थियो । पर्यटनलाई नेपालको आर्थिक विकासको मूल आधारका रूपमा स्थापित गर्न एशोसिएसन निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

यस्तै, साधारण सभा सम्पन्न भएलगत्तै एशोसिएसनको कार्यालयमै नयाँ कार्यसमितिको पदभार हस्तान्तरण तथा ग्रहण कार्यक्रम समेत सम्पन्न भएको आयोजकले जानकारी दिएका छन् । सो अवसरमा नवनिर्वाचित अध्यक्ष भिम बहादुर गोले तामाङले कार्यसमितिलाई पूर्णता दिनका लागि सह–कोषाध्यक्ष १ जना र सदस्य २ जना मनोनयन गर्नुभएको पनि एशोसिएसनले जनाएको छ ।
कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण सदस्य, पदाधिकारी तथा सरोकारवाला निकायप्रति एशोसिएसनले आभार व्यक्त गरेको छ । यसअघि सम्पन्न साधारण सभाले पर्यटन क्षेत्रको प्रबर्द्धनका लागि सरकारसँग सहकार्य गर्दै आगामी दिनमा अझै प्रभावकारी कदम चाल्ने संकल्प व्यक्त गरेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend