५ भदौ , काठमाडौं ।नेपालको पर्यटन क्षेत्रसँग चार दशकभन्दा बढी समयदेखि निरन्तर जोडिँदै आउनु भएका बिमल कुमार नहर्की आज नेपाली पर्यटनका दृढ र अनुभवी व्यक्तित्वका रूपमा स्थापित हुनु भएको छ । धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका–२ मा जन्मिनु भएका नहर्कीले सानै उमेरदेखि मेहनत, लगन र आत्मविश्वासलाई जीवनको आधार बनाउँदै पर्यटनलाई आफ्नो ध्येय र कर्मक्षेत्रका रूपमा रोज्नुभयो । सन् १९८६ मा होटल व्यवसायमार्फत पर्यटन क्षेत्रमा आफ्नो यात्रा सुरु गर्दै उहाँले पोखरामा ‘टेम्पल ट्री रिसोर्ट एण्ड स्पा’ र ‘होटल नोखरा’ जस्ता प्रतिष्ठित आतिथ्य व्यवसाय स्थापना गर्नुभयो, जसले पोखरालाई आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनाउने काम गर्यो ।
होटल व्यवसायलाई मात्रै सीमित नगरी उहाँले नेपालको पर्वतीय पर्यटन र ट्रेकिङ व्यवसायमा समेत अमूल्य योगदान पुर्याउनुभयो । सन् १९९२ मा उहाँले ‘इको ट्रेक नेपाल’ स्थापना गरी नेपालको हिमाली पदमार्ग र पर्वतीय गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनाउने ऐतिहासिक काम गर्नुभयो । जिम्मेवार र वातावरणमैत्री पर्यटनको अवधारणालाई व्यवहारमा उतार्दै उहाँले केवल व्यवसायिक उद्देश्यभन्दा पर जानुभयो र स्थानीय समुदाय, वातावरणीय दायित्व र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राख्नुभयो ।
नहर्कीको नेतृत्व क्षमता र दुरदृष्टि नेपाल पर्वतारोहण संघ (NMA) सँग पनि प्रत्यक्ष जोडिएको छ । उहाँ २०१४ मा संघको कार्यसमिति सदस्यका रूपमा निर्वाचित भई पर्वतीय पर्यटनको प्रवर्द्धन, संस्थागत सुधार र पेशागत पर्वतारोहीहरूको हकहितका लागि सक्रिय रहनुभएको थियो । त्यही क्रममा उहाँले Environmental Education Project (KEEP) का अध्यक्षका रूपमा समेत सेवा गर्नुभयो, जसले वातावरण संरक्षण, जिम्मेवार पर्यटन र जागरूकता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ । हाल उहाँ कैलाश टुर अपरेटर एसोसिएसनका अध्यक्ष हुनुहुन्छ र त्यसमार्फत पनि पर्वतीय पर्यटनमा सुरक्षा, गुणस्तर र व्यावसायिक प्रतिष्ठा अभिवृद्धिमा नेतृत्व दिइरहनु भएको छ ।
चार दशक लामो अनुभव, अन्तर्राष्ट्रिय पहिचान र संस्थागत नेतृत्व क्षमताको बलमा आज नहर्की नेपाल पर्वतारोहण संघ (NMA) को आसन्न निर्वाचनमा महासचिव पदका प्रत्याशी बन्नु भएको छ । उहाँले आफ्नो उम्मेदवारीलाई केवल पदका लागि नभई संस्थागत सुधार, पर्वतीय पर्यटनमा सुरक्षा, पेशागत गाइड र आरोहीहरूको हकहित संरक्षण, नयाँ पुस्ताका लागि अवसर र प्रशिक्षण विस्तार, वातावरणीय दायित्व र सतत पर्यटन विकास जस्ता प्रमुख एजेन्डामाथि केन्द्रीत गर्नुभएको छ ।
नेपाललाई विश्व पर्यटन नक्सामा अझ सबल पहिचान दिलाउन, संस्थागत मजबुतीमार्फत पर्वतीय पर्यटनलाई समृद्ध बनाउने लक्ष्यमा अघि बढिरहेका बिमल कुमार नहर्कीले आफ्नो जीवनभरको अनुभव, ज्ञान र समर्पणलाई अब नेपाल पर्वतारोहण संघमार्फत संस्थागत रूपमा प्रयोग गर्ने दृढ अठोट गर्नुभएको छ । उहाँको विश्वास छ, पर्यटन नेपालकै भविष्य हो र पर्यटनमै नेपालको पहिचान लुकेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend