आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

 मिङमा ग्याबु शेर्पा : हिमालसँग जीवन अर्पण गरेका साहसी आरोही

 मिङमा ग्याबु शेर्पा : हिमालसँग जीवन अर्पण गरेका साहसी आरोही

 

५ भदौ , काठमाडौं । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङ, एक साधारण परिवारमा १९८९ मे १६ मा जन्मिएका मिङमा ग्याबु शेर्पाको जीवन यात्रा आज हजारौँ युवाको लागि प्रेरणादायी कथन बनेको छ । हिमालैसंगै हुर्किएका उनी सानै उमेरदेखि नेपालको पर्वतीय पर्यटनमा आकर्षित भए । कठिनाइ, गरिबी र चुनौतीलाई आफ्नो जीवनको मार्गदर्शक बनाउँदै उनले भविष्यलाई हिमालकै शिखरसँग जोडे ।

कक्षा ९ मा पढ्दै गर्दा नै मिङमाले पहिलोपटक पोर्टरको रूपमा पर्वतीय पर्यटनमा आफ्नो यात्रा सुरु गरेका थिए । सामान्यतया पढाइमै रमाउनुपर्ने उमेरमा उनले भारी बोकेर विदेशी आरोहीहरूको सेवा गर्ने बाटो रोजे । तर यही बाटो उनको जीवनलाई अन्तर्राष्ट्रिय पर्वतीय इतिहासमा अमिट नाम बनाउने आधारशिला बन्न पुग्यो । पोर्टरको रूपमा शुरु भएको उनको संघर्ष आज विश्व पर्वतीय पर्यटनको इतिहासमा स्वर्ण अक्षरले कोरिएको छ ।

साहस, धैर्य र अनुशासनलाई जीवनको मन्त्र बनाएका मिङमाले निकै कम उमेरमै विश्व किर्तिमान कायम गर्न सफल भए । विश्वकै ८,००० मिटरभन्दा अग्ला सबै १४ वटा हिमाललाई आरोहण गरेर उनले असम्भवजस्तो लाग्ने कार्यलाई सम्भव बनाए । त्यो पनि केवल ६ महिना ६ दिन (२०७६ सालको अभियान) भित्र पूरा गरेर उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भए । सगरमाथा र के-टु जस्ता विश्वका सबैभन्दा कठिन र खतरनाक शिखरहरूलाई समेत केवल ६१ दिनको अन्तरमा सफलतापूर्वक आरोहण गरेर उनले मानवीय क्षमताको सीमा कस्तो हुन्छ भन्ने कुरा देखाइदिए ।

३० वर्ष नपुग्दै यसरी विश्व किर्तिमान कायम गर्ने साहसी आरोही मिङमा आज अन्तर्राष्ट्रिय पर्वतीय पर्यटनमा चर्चित नाम बनेका छन् । २०२४ सम्म आइपुग्दा उनले ६ पटक के-टु र ९ पटक सगरमाथा आरोहण गरेर इतिहास दोहोर्‍याइसकेका छन् ।

यति मात्र होइन, मिङमा ग्याबु शेर्पाले अन्तर्राष्ट्रिय स्तरमै पर्वतीय पर्यटनलाई नयाँ आयाम दिन निर्मल पुर्जा “निम्सदाई”सँग मिलेर इलाइट एक्स्पेड कम्पनी स्थापना गरे । यस कम्पनीमार्फत उनले नेपाललाई विश्व बजारमा थप चिनाउन सफलमात्र भएनन्, विश्वभरका आरोहीहरूलाई सुरक्षित, व्यवस्थित र व्यावसायिक सेवा प्रदान गरेर नेपालको हिमालसँग जोडिएको पर्यटनलाई नयाँ सम्भावना दिए ।

हिमाल आरोहण मात्र होइन, मिङमा वातावरणीय संरक्षण र सामाजिक उत्तरदायित्वप्रति पनि त्यत्तिकै संवेदनशील छन् । उनी निरन्तर फोहोर व्यवस्थापन, वातावरण संरक्षण, जलवायु परिवर्तनप्रति जनचेतना, श्रमिक अधिकार र हिमालमा काम गर्ने सहकर्मीहरूको जीवनस्तर सुधार जस्ता मुद्दामा आवाज उठाउँदै आएका छन् । उनका यी अभियानहरूले उनलाई केवल पर्वतारोहणको नायक मात्र नभई सामाजिक उत्तरदायी व्यक्तित्वको रूपमा पनि चिनाएका छन् ।

आज मिङमा ग्याबु शेर्पा आफ्नो जीवनभरको अनुभव, संघर्ष र अन्तर्राष्ट्रिय प्रतिष्ठालाई राष्ट्रिय संस्थागत नेतृत्वमा प्रयोग गर्न चाहन्छन् । यही उद्देश्यसहित उनी आसन्न नेपाल पर्वतारोहण संघ (NMA) को निर्वाचनमा कुलबहादुर गुरुङ समूहबाट प्रथम उपाध्यक्ष पदका उम्मेदवार बनेका छन् । उनले हिमालसँगको आफ्नो जीवनयात्रा, अन्तर्राष्ट्रिय अनुभव, संगठनात्मक क्षमता र सामाजिक दृष्टिकोणलाई संस्थाको हितमा उपयोग गर्ने दृढ निश्चय गरेका छन् ।

सगरमाथा जस्तै उच्च आकांक्षा बोकेका मिङमा ग्याबु शेर्पाको विश्वास छ—नेपालको हिमाल केवल प्राकृतिक सम्पदा मात्र होइन, नेपालीको पहिचान र गर्वको धरोहर हो । त्यसलाई सुरक्षित गर्दै विश्वमा अझ बलियो रूपमा चिनाउनु उनको जीवनको अर्को महत्वपूर्ण यात्रा हुनेछ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend