आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आईपीसीसीको सातौँ मूल्यांकन प्रतिवेदनमा आठ नेपाली वैज्ञानिकको चयन, जलवायु एजेन्डामा ऐतिहासिक उपलब्धि

आईपीसीसीको सातौँ मूल्यांकन प्रतिवेदनमा आठ नेपाली वैज्ञानिकको चयन, जलवायु एजेन्डामा ऐतिहासिक उपलब्धि

 

२ भदौं ,काठमाडौं । विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समूह (आईपीसीसी) को सातौँ मूल्यांकन प्रतिवेदनका लागि नेपालका आठ जना वैज्ञानिकहरू चयन भएका छन् । यो संख्यामा नेपाली वैज्ञानिकहरूको सहभागिता अहिलेसम्मकै उच्च हो, जसलाई राष्ट्रिय गौरवको रूपमा हेरिएको छ ।

जलवायु विज्ञानसम्बन्धी तथ्याङ्क संकलन, विश्लेषण र भविष्यमा जलवायु परिवर्तनले पार्ने असरबारे व्याख्या गर्ने जिम्मेवारी आईपीसीसीको हुन्छ । विश्वभरका विज्ञहरूको स्वेच्छिक योगदानमा आधारित प्रतिवेदनमार्फत भविष्यका जलवायु एजेन्डा र नीति निर्माणमा महत्वपूर्ण आधार तय हुने भएकाले नेपालका वैज्ञानिकहरूको उपस्थिति विशेष मानिएको हो ।

त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञानका सहप्राध्यापक डा. सुदीप ठकुरी र डा. नारायण गैरे, ईसीमोडका डा. भूपेश अधिकारी र डा. अमिना महर्जन, फिम इटालीकी डा. शोभा पौडेल, नेदरल्यान्डको ग्रोनिङजेन विश्वविद्यालयका डा. प्रज्जवल प्रधान, सीआईएमएमवाईटीका डा. टेक सापकोटा विभिन्न च्याप्टरका मुख्य लेखकका रूपमा छनोट भएका छन् । यस्तै, आईपीसीसी कार्यगत समूह १ का उपाध्यक्षसमेत रहेका डा. महेश्वर रूपाखेती च्याप्टर-३ का समीक्षक (रिभ्यू एडिटर) को भूमिकामा रहने भएका छन् ।

यसअघि छैठौँ मूल्यांकन प्रतिवेदनमा चार नेपाली वैज्ञानिक मात्र संलग्न भएका थिए । सातौँ प्रतिवेदनका लागि ८ वैज्ञानिक प्रत्यक्ष रूपमा र विशेष प्रतिवेदनमा थप २ जना, गरी जम्मा १० नेपाली विज्ञहरूको संलग्नता हुनु जलवायु विज्ञानमा नेपालको अन्तर्राष्ट्रिय उपस्थिति बलियो बन्दै गएको संकेत हो । विशेष प्रतिवेदनहरूमा प्राध्यापक डा. शोभकार ढकाल “जलवायु र शहर” शीर्षक प्रतिवेदनमा मुख्य लेखक र डा. भूपेन्द्र दास “इन्भेन्टोरी फर सर्ट लिभ्ड क्लाइमेट फोर्सर्स” का लागि मुख्य लेखक चयन भएका छन् ।

विज्ञान लेखक तथा वातावरण अध्येता गोविन्द प्रसाद पोखरेलले पनि नेपाली वैज्ञानिकहरूको संलग्नताले जलवायु रणनीति, सरकारी नीति तथा दीर्घकालीन कार्ययोजनामा ठोस योगदान गर्ने बताए ।

आईपीसीसीको सातौँ मूल्यांकन प्रतिवेदन सन् २०२७ मा सार्वजनिक हुने अपेक्षा गरिएको छ । यस प्रतिवेदनमार्फत नेपालले जलवायु परिवर्तनप्रति संवेदनशील राष्ट्रको हैसियतलाई अझ प्रष्ट पार्ने र आफ्नो वैज्ञानिक हैसियतलाई विश्वमञ्चमा उचाल्ने विश्वास गरिएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend