३१ साउन , काठमाडौं । नेपाल टेलिकम लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको सञ्चालन आम्दानी लगभग स्थिर रहेपनि वित्तीय आम्दानीमा ठूलो गिरावट आएको र कर खर्च बढेसँगै खुद नाफा उल्लेख्य रूपमा घटेको देखिएको छ ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३४ अर्ब ५६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको टेलिकमले चालु वर्ष सोही अवधिसम्म ३४ अर्ब ५३ करोड रुपैयाँ आम्दानी गरेको छ । तर वित्तीय आम्दानी ६ अर्ब ७८ करोड रुपैयाँबाट घटेर ३ अर्ब ७० करोड रुपैयाँमा सीमित भएपछि कुल आम्दानी ४२ अर्ब ११ करोड रुपैयाँबाट झरेर ३८ अर्ब ७३ करोड रुपैयाँमा पुगेको हो ।
यसैगरी, चालु कर खर्च ११ करोड रुपैयाँबाट बढेर ४ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ पुगेपछि कम्पनीको खुद नाफा अघिल्लो वर्षको ६ अर्ब २३ करोड ५५ लाख रुपैयाँबाट घटेर २ अर्ब ६६ करोड ८१ लाख रुपैयाँमा खुम्चिएको छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको ३४ रुपैयाँ ६४ पैसाबाट घटेर १४ रुपैयाँ ८२ पैसामा झरेको छ । आर्थिक वर्षको अन्त्यसम्ममा टेलिकमको प्रतिसेयर नेटवर्थ ४९५ रुपैयाँ ३३ पैसा र मूल्य-आम्दानी अनुपात (P/E Ratio) ५९.१८ गुणा रहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा ७१ अर्ब १५ करोड रुपैयाँ सञ्चित भएको विवरणमा उल्लेख छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend