२९ साउन ,काठमाडौं । नेपालका हिमालहरूलाई केवल प्राकृतिक सौन्दर्यको प्रतीक मात्र नभई सांस्कृतिक पहिचान, जीवनशैली, अर्थतन्त्रको मेरुदण्ड र अन्तर्राष्ट्रिय प्रतिष्ठाको आधारका रूपमा संरक्षण र प्रवर्द्धन गर्ने स्पष्ट प्रतिवद्धतासहित कुल बहादुर गुरुङको नेतृत्वमा रहेको समूहले नेपाल माउन्टेनियरिङ्ग एशोसिएसन (NMA) निर्वाचन–२०८२ का लागि आफ्नो नीति, दृष्टि र कार्ययोजना सार्वजनिक गरेको छ । “Mountains are not just landscapes — they are lifelines” भन्ने मूल मन्त्रसहित समूहले सुरक्षित, जिम्मेवार र दिगो हिमाली पर्यटन, स्वच्छ हिमाल, जलवायु न्याय, समुदाय सशक्तीकरण, पारदर्शी नेतृत्व र अन्तर्राष्ट्रिय स्तरमा नेपालको हिमाली पर्यटनको ब्रान्डिङलाई प्राथमिकतामा राख्ने घोषणा गरेको हो ।
नीतिगत घोषणामा आरोहण र पदयात्रामा उच्चतम सुरक्षा मापदण्ड लागू गर्दै हेलि–रेस्क्युमा पारदर्शी नियमन, एभरेस्टसहित ८००० मिटरभन्दा माथिका शिखरका लागि आचारसंहिता, र पर्वतारोहण सुरक्षा ऐन अद्यावधिक गर्ने योजना समेटिएको छ । जलवायु परिवर्तनको असरबारे विश्व समुदायलाई सन्देश दिन “स्वच्छ हिमाल अभियान” सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय भूमिका खेल्ने र जलवायु प्रतिरोधात्मक कार्यक्रम कार्यान्वयनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्ने उल्लेख गरिएको छ ।
समूहले हिमालसँग सम्बन्धित स्थानीय उत्पादन, सेवा र जनशक्तिलाई प्राथमिकता दिने, अफ–सिजन तथा कम परिचित शिखरको प्रवर्द्धन गर्ने, गाइड, शेर्पा, सहयोगी मजदुर र कुकलगायत उच्च हिमाली श्रमिकको तालिम, बीमा, स्वास्थ्य, कानुनी सहयोग र सामाजिक सुरक्षा सुनिश्चित गर्न “Mountain Workers’ Bill of Rights” लागू गर्ने प्रतिवद्धता जनाएको छ । साथै, दिवंगत श्रमिकका परिवारका लागि विशेष पेन्सन, सम्मान दिवस र छात्रवृत्ति कार्यक्रम ल्याउने उल्लेख छ ।
नयाँ पुस्ता र सीप विकासका लागि NMA तालिम अकादमी, अनुसन्धान केन्द्र र उद्धार केन्द्रहरू स्थापना तथा स्तरोन्नति गर्ने, महिला पर्वतारोहण पहल, युवाका लागि अन्तर्राष्ट्रिय छात्रवृत्ति र विशेष सीप विकास तालिम सञ्चालन गर्ने योजना समूहको एजेन्डामा छ । संस्थागत पारदर्शिताका लागि सबै सेवामा डिजिटल प्रणालीमार्फत ‘एकद्वार सेवा’ सुरु गर्ने, स्थायी NMA नेतृत्व कार्यालय र “हिमालयन प्रेसिडेन्सियल थिङ्क ट्यांक” स्थापना गर्ने तयारी पनि गरिएको छ ।
अन्तर्राष्ट्रिय स्तरमा नेपालको हिमाली पर्यटनको प्रभावकारी ब्रान्डिङका लागि वार्षिक अन्तर्राष्ट्रिय हिमाल महोत्सव आयोजना गर्ने, UIAA, UAAA लगायतका संघसँग दीर्घकालीन साझेदारी र विश्वव्यापी आरोही सम्मान कार्यक्रम सञ्चालन गर्ने समूहको योजना छ । नेतृत्वको कार्यशैली C³ (Creation, Curation & Communication) र E³ (Energy, Excitement & Enthusiasm) दृष्टिकोणमा आधारित रहने बताइएको छ, जसले सिर्जनात्मक सोच, योजनाबद्ध कार्यान्वयन र प्रभावकारी सञ्चारमार्फत NMA लाई दीगो, समावेशी र सशक्त संस्थाका रूपमा अघि बढाउने विश्वास व्यक्त गरिएको छ ।
अध्यक्ष पदका प्रत्यासी कुल बहादुर गुरुङले नेपालका हिमाललाई केवल आरोहणको लक्ष्य नभई जीवन, संस्कृति र गौरवको स्रोतका रूपमा संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै हितधारकलाई एकताबद्ध भएर विश्व मञ्चमा नेपालको हिमाललाई गर्वको रूपमा स्थापित गर्ने संकल्प गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend