२५ साउन,काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज काठमाडौं उपत्यकासहित देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रूपमा सिँगारी परिक्रमा गराउने, दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र द्रव्य दान गर्ने धार्मिक परम्परा यस दिनको विशेषता हो।
धार्मिक विश्वासअनुसार, यसरी नगरपरिक्रमा गर्नाले दिवङ्गत व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार गर्न सक्ने मानिन्छ। ऐतिहासिक तथ्यअनुसार, राजा प्रताप मल्लले पुत्रशोकमा डुबेकी रानीलाई संसारमा सबैले शोक भोग्नु पर्छ भन्ने देखाउन जनतालाई दिवङ्गत आफन्तको नाममा गाईजात्रा निकाल्न आदेश दिएका थिए। रानीको मन अझै शान्त नहुँदा उनले प्रहसन र हास्यव्यङ्ग्यका कार्यक्रम गर्न आदेश दिएकै कारण यस पर्वमा व्यङ्ग्य र विनोदको परम्परा सुरु भएको जनश्रुति छ।
प्रताप मल्लको पालादेखि हनुमानढोकास्थित राजदरबार हुँदै जाने गाईजात्रा आजसम्म निरन्तर चल्दै आएको छ। काठमाडौं, ललितपुर र भक्तपुरमा यसको विशेष रौनक देखिन्छ भने बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायको उपस्थिति रहेका सहरमा पनि यो पर्व उत्साहका साथ मनाइन्छ।
पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको आरोपमा २०१७ पुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा प्रतिबन्ध लगाइएको थियो। विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले झाँकी र हास्यव्यङ्ग्यसहित पुनः महोत्सवका रूपमा यसलाई मनाउन थालेको हो।
आजको गाईजात्रामा पनि समाजका विकृति र विसङ्गतिलाई उजागर गर्ने, हास्यव्यङ्ग्यका माध्यमबाट सचेतना फैलाउने तथा मनोरञ्जन दिने कार्यक्रमहरू आयोजना भइरहेका छन्। पाटनमा देखाइने सत्ययुगको धान–चामलका नमूना, ठमेलमा प्रदर्शित स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तकहरू विशेष आकर्षण बनेका छन्।
यस अवसरमा हास्य कलाकारहरूले पनि विशेष कार्यक्रम प्रस्तुत गर्दै छन् भने पत्रपत्रिकामा गाईजात्रा विशेष हास्यव्यङ्ग्य अङ्क प्रकाशित भएका छन्। काठमाडौं उपत्यकामा यस पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend