१६ साउन, काठमाडौं । निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा कात्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि राजनीतिक दलहरूलाई दल दर्ताको प्रक्रिया सुरु गर्न आग्रह गरेको छ । आयोगले सोमबार एक सूचना प्रकाशित गर्दै इच्छुक दलहरूले साउन २१ गतेदेखि २७ गतेसम्म आफ्नो दल दर्ता गर्न सक्ने जनाएको छ । यसका लागि आयोगको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगले यसअघि नै उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरिसकेको छ । उक्त कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता आगामी असोज २१ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । सोही दिन उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ ।
उम्मेदवारहरूको अन्तिम नामावली भने असोज २४ गते सार्वजनिक गरिने आयोगले जानकारी दिएको छ । मतदान भने कात्तिक १७ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुनेछ ।
आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत समानुपातिक प्रणालीको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिहरूले यस उपनिर्वाचनमा उम्मेदवारी दिन नपाउने स्पष्ट पारेको छ ।
उपनिर्वाचनका लागि तयारी तीव्र हुँदै गर्दा राजनीतिक दलहरूबीच उम्मेदवार चयनको प्रक्रिया र चुनावी समीकरणको चासो पनि बढ्न थालेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend