राम प्रसाद गैरे,
१५ साउन, काठमाडौं । म गाउँमा जन्मिएको मान्छे। बाल्यकालको सम्झना आउँदा मन अझै पनि तिनै हरिया डाँडाकाँडा, ती चुरुटिएको बाटो, र बडरेको चौरमा चरिरहेको गाईबाख्रा अनि रमाइला साथीहरूको अनुहारले भरिन्छ। त्यो बेलाको गाउँ रमाइलो थियो, रमाइलो मात्र होइन, जिन्दगीको आशय थियो।
हाम्रो जीवन दुई पाई बसाइमा बित्थ्यो—उकालोको गाउँ रामकोट र ओरालोको बेशी दुरवाङ। गर्मीयाम लाग्नासाथ हामी गाउँ चढ्थ्यौं, हिउँद लागेपछि बेशी झर्थ्यौं। दुरवाङ बेशीको जीवन हाम्रो लागि अलिकति सजिलो लाग्थ्यो, तर गाउँको जिन्दगीको आफ्नै रस थियो। उकालो चढ्नु पर्थ्यो, पसिना चिरचिर चुहिन्थ्यो, थकाई लाग्थ्यो, तर जब डाँडाको फेदबाट गाउँका छाना देखिन्थे, मन फुरुङ्ग हुन्थ्यो।
बाल्यकालको त्यो वेला—बिस बाइस वर्षअगाडिको—अब केवल सम्झनाको पानामा मात्रै बाँकी छ। त्यो बेलामा हामी बडरेका खोल्सा र चौरतिर घाँस दाउरा लिन जान्थ्यौं। हरेक बिहान डोकाका डोका भरिएको भारी बोकेर डाँडैडाँडा कटाउँथ्यौं। बाख्रा चराउन गइन्थ्यो, गोरु लाने काम पनि गथ्र्यौं। साँचो कुरा भन्नुपर्दा, त्यो कठोर श्रम पनि रमाइलो लाग्थ्यो। किनभने त्यसमा जीवन थियो, ऊर्जा थियो, आत्मीयता थियो।
बडरेको चौर आज पनि सम्झिँदा मन भावुक बन्छ। त्यहाँ बसेर हामीले धेरै दिन बिताएका थियौं। गाईबाख्रा जंगलमा छाडेर हामी साथीहरूसँग ढुंगामुढा खेल्थ्यौं, कहिले आकाश हेरेर भविष्यको कल्पना गर्थ्यौं। कहिलेकाहीँ त्यो चौर नै हाम्रो स्कुल हुन्थ्यो, जहाँ प्रकृति नै शिक्षक हुन्थ्यो।
समय कति छिटो बितेछ, पत्तै भएन। आज जब म फेरि गाउँ फर्कन्छु, त्यो उही रामकोट हो, उही बडरे हो, तर वातावरण फेरिएको छ। घरहरू छन्, तर तिनका झ्यालढोका बन्द छन्। बाटो उस्तै छ, तर त्यो बाटोमा न त अब गाईबाख्राका गुँरगुँर आवाज आउँछ, न त बालबालिकाको हाँसो।
गाउँ सुनसान छ। शान्त होईन, सुनसान। मानिस नहुनु शान्ति होइन रहेछ, त्यो त एक किसिमको अभाव हो—साँघुरो बनिदिएको जीवनको सास।
दुरवाङबाट गाउँ जान अहिले पनि उकालो नै चढ्नुपर्छ। पहिलेजस्तो पसिना आज पनि आउँछ होला, तर त्यहाँ पहिलाजस्तो प्रतीक्षा गर्ने आमा हुँदैनन्, चौरमा साथीहरू हुँदैनन्। एकान्तले छोएको त्यो डाँडो मानौँ आत्माको आवाज सुनिरहेको छ। उकालो उस्तै छ, तर मन अब ओरालो लाग्न खोजिरहेको छ—समयको ढल्काइसँगै।
जब म बेशी फर्कन्छु, झर्न सजिलो लाग्छ। तर मन भने अझै पनि गाउँमै अड्किएको हुन्छ—ती झ्याप्प परेको बादल, ती टाढाबाट कराउने भाकाहरु, त्यो पारीको खेतबारी, र झिमरुक किनारमा लुकिछिपी खोलामा नुहाएको सम्झनामा।
दुरवाङबाट पारी प्युठान पर्छ, वारी अर्घाखाँची। बीचमा झिमरुक नदी सीमाको रूपमा बगेको छ। त्यो नदी हाम्रा भौगोलिक सिमानाको मात्र होइन, भावनात्मक सिमानाको पनि प्रतिनिधि हो। कहिलेकाहीँ लाग्छ, झिमरुक नै साक्षी बनेर हाम्रा विगतका हाँसो, रोदन, सपना र संघर्ष बगाउँदै लिईरहेको छ।
आज जब म यो लेख्दैछु, गाउँ झन् परपर लाग्छ। केवल भौगोलिक हैन, जीवनशैलीको हिसाबले पनि। गाउँले जीवन अब केवल तस्बिरमा, सम्झनामा, र केही पुराना गीतहरूमा बाँकी छ। तर ती सम्झनाले मलाई जिउँदो बनाउँछ। ती पसिनाले भिजेका दिनहरू—जसमा सगौरव थकाई हुन्थ्यो—मलाई आज पनि मेरो असली परिचय सम्झाउँछन्।
गाउँ त सुनसान छ, तर मेरो मनको एउटा कुना अझै पनि बडरेको चौरमै बाँचेको छ। जहाँ म एउटा सानो केटो हुँ, गोरु हाँक्दैछु, बाख्रा लखेट्दैछु, अनि साथीहरूसँग बिहानको घाममा झिमरुकको छेउमा टल्कँदो सपना देख्दैछु।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend