काठमाडौं । नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यसहित आफ्नो आधिकारिक वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ। डिजिटल प्रविधिको प्रयोगमार्फत सदस्य व्यवसायीलाई आवश्यक सूचना तथा सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराउने लक्ष्यका साथ महासंघले यो पहल अघि बढाएको हो।
काठमाडौंको त्रिपुरेश्वरस्थित बोगेनभिल्लामा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले वेबसाइट र मोबाइल एपको औपचारिक शुभारम्भ गरे। कार्यक्रममा बोल्दै उनले व्यवसायलाई आधुनिक र प्रतिस्पर्धी बनाउन सूचना प्रविधिको प्रयोग अपरिहार्य भइसकेको उल्लेख गर्दै महासंघको यो कदम समयसापेक्ष र अनुकरणीय रहेको बताए। प्रविधिको प्रभावकारी उपयोगले सेवा प्रवाहलाई छरितो, भरपर्दो र पारदर्शी बनाउने विश्वास पनि उनले व्यक्त गरे।
महासंघका अध्यक्ष किसान सुनारले डिजिटल प्रणाली निर्माणको उद्देश्यबारे जानकारी दिँदै महासंघलाई पूर्ण रूपमा प्रविधिमैत्री संस्थाका रूपमा विकास गर्ने योजना रहेको बताए। उनका अनुसार सदस्य व्यवसायीले अब एउटै डिजिटल माध्यमबाट दैनिक सुन–चाँदीको बजार मूल्य, महासंघका सूचना तथा परिपत्र, ऐन–नियम, निर्देशिका, कार्यक्रम तथा व्यवसाय व्यवस्थापनसँग सम्बन्धित विभिन्न सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
महासंघका अनुसार वेबसाइट र मोबाइल एपले व्यवसाय सञ्चालनलाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन सहयोग पुग्नेछ। यसले सूचना प्रवाहलाई छिटो बनाउनुका साथै सदस्य व्यवसायीबीच समन्वय र सेवामा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा भौतिक तथा अनलाइन माध्यमबाट सहभागी सदस्य संघका अध्यक्ष, पदाधिकारी र प्रतिनिधिहरूले वेबसाइट तथा एपको उपयोगिताबारे सकारात्मक प्रतिक्रिया दिएका थिए। उनीहरूले आगामी दिनमा थप डिजिटल सेवा र सुविधाहरू समावेश गर्न सुझावसमेत दिएका छन्।
कार्यक्रमको समापन गर्दै महासंघका प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्माले सबै सदस्य व्यवसायीलाई वेबसाइट र मोबाइल एपको अधिकतम उपयोग गर्न आग्रह गरे। महासचिव निरबहादुर विश्वकर्माले पनि सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत सुनचाँदी तथा आभूषण व्यवसायलाई आधुनिक, सुरक्षित र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि सक्षम बनाउने अभियानलाई महासंघले निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend