सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेरुडे मिर्मिरे लघुवित्तको १९औँ साधारणसभा सम्पन्न, हकप्रद शेयरदेखि मर्जरसम्मका प्रस्ताव पारित

नेरुडे मिर्मिरे लघुवित्तको १९औँ साधारणसभा सम्पन्न, हकप्रद शेयरदेखि मर्जरसम्मका प्रस्ताव पारित

काठमाडौं ।नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारणसभा सम्पन्न गर्दै पूँजी विस्तार, हकप्रद शेयर निष्कासन, सम्भावित मर्जर तथा संस्थागत सुशासनसँग सम्बन्धित महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।

भक्तपुरको मध्यपुर थिमी–३, कौशलटारस्थित ह्वाइट प्यालेस ब्याङ्क्वेटमा सम्पन्न साधारणसभा संस्थाका अध्यक्ष राज कुमार राईको अध्यक्षतामा भएको थियो। कार्यक्रमको सञ्चालन कम्पनी सचिव राजेश श्रेष्ठले गरेका थिए भने सञ्चालक सन्जु घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको प्रगतिमा शेयरधनी, कर्मचारी, ग्राहक तथा सरोकारवालाको भूमिकाको प्रशंसा गरेका थिए।

साधारणसभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू अनुमोदन गरेको छ। साथै, चालु आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव पनि स्वीकृत गरिएको छ।

सभाले नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि हालको चुक्ता पूँजीको १ः०.२५ अनुपातमा ३४ लाख ९४ हजार ४१०.६८ कित्ता हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ। यससँगै आवश्यकताअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गरिएको छ।

त्यसैगरी, ‘घ’ वर्गका इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थासँग गाभ्ने, गाभिने वा प्राप्ति (मर्जर तथा एक्विजिसन) प्रक्रिया अघि बढाउन उपयुक्त संस्था छनोट गर्ने, समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने तथा नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति लिने सम्पूर्ण अधिकार पनि सञ्चालक समितिलाई दिइएको छ।

सभामा स्वतन्त्र सञ्चालक नियुक्तिको जानकारी गराइनुका साथै संस्थापक समूहअन्तर्गत रिक्त रहेको एक सञ्चालक पदमा सञ्चालक समितिबाट गरिएको नियुक्तिलाई समेत अनुमोदन गरिएको थियो।

संस्थाले हाल रु. १ अर्ब ३९ करोड ७७ लाख ६४ हजार २७२ चुक्ता पूँजी कायम रहेको जनाएको छ। यसमध्ये ५१.४९ प्रतिशत शेयर संस्थापक र ४८.५१ प्रतिशत सर्वसाधारणको स्वामित्वमा रहेको छ। साविक स्वेडा लघुवित्त र बुद्धज्योति लघुवित्तका संस्थापक शेयर सर्वसाधारणमा रूपान्तरण भएपछि शेयर स्वामित्व अनुपात ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण हुने जानकारी पनि सभामा दिइयो।

राष्ट्रियस्तरमा सेवा विस्तार गरिरहेको संस्थाले हाल सातै प्रदेशका ६१ जिल्लामा रहेका २२५ शाखा कार्यालय, पाँच प्रादेशिक कार्यालय, २५ क्लस्टर (अनुगमन इकाई), एक केन्द्रीय कार्यालय र एक कर्पोरेट कार्यालयमार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको जनाएको छ।

प्रस्तावमाथिको छलफलमा शेयरधनीहरूले पूँजी वृद्धि, डिजिटल सेवा विस्तार, जोखिम व्यवस्थापन, सुशासन, लगानी प्रतिफल र संस्थाको दीर्घकालीन रणनीतिबारे जिज्ञासा तथा सुझाव राखेका थिए।

जवाफमा अध्यक्ष राज कुमार राईले संस्थालाई अझ सुदृढ, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै पूँजी विस्तार, प्रभावकारी जोखिम व्यवस्थापन, सुशासनको थप सुदृढीकरण तथा आवश्यकताअनुसार मर्जर प्रक्रियामार्फत संस्थाको वित्तीय आधार अझ बलियो बनाइने बताए।

कार्यक्रममा सहभागी अतिथिहरूले ग्रामीण तथा दुर्गम क्षेत्रमा वित्तीय पहुँच विस्तार, महिला उद्यमशीलता प्रवर्द्धन र वित्तीय समावेशीकरणमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा प्रविधिमैत्री सेवा, नवप्रवर्तन र प्रभावकारी वित्तीय व्यवस्थापनलाई थप प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए।

संस्थाले शेयरधनीको हित, वित्तीय स्थायित्व र दीर्घकालीन विकासलाई केन्द्रमा राखेर पारित गरिएका निर्णयहरूले आगामी रणनीतिक यात्रालाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend