आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

माओवादी केन्द्रभित्र शक्ति संघर्ष चुलियो, उपमहासचिव शर्माको पुनर्गठनको माग

माओवादी केन्द्रभित्र शक्ति संघर्ष चुलियो, उपमहासचिव शर्माको पुनर्गठनको माग

१४ साउन,  काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) भित्रको आन्तरिक विवाद अहिले चरम उत्कर्षमा पुगेको छ। पार्टीका उपमहासचिव जनार्दन शर्माले पार्टीको पुनर्गठनको माग गर्दै विशेष महाधिवेशन बोलाउनुपर्ने आवश्यकता औंल्याउँदै नेतृत्वप्रति गम्भीर आलोचना गर्नुभएको छ। पछिल्ला केही दिनयता शर्माले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रत्यक्षत: लक्षित गर्दै सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालमार्फत आलोचनात्मक टिप्पणी गर्दै आउनुभएको छ।

शर्माले मंगलवार सामाजिक सञ्जालमार्फत दिएको वक्तव्यमा पार्टीभित्रको वैचारिक अस्पष्टता, राजनैतिक अन्योलता, सांगठनिक अराजकता, र विधि विहीनताको अन्त्य गर्न विशेष महाधिवेशन आवश्यक रहेको बताउनुभएको छ। उहाँले पार्टीको पुनर्गठनबाट नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्ययोजना निर्माण गर्न सकिने दाबी गर्नुभएको छ। साथै, विगतमा भएका परामर्श बैठकहरू र केन्द्रीय समितिको निर्णयअनुसार विशेष महाधिवेशनको प्रक्रिया सुरु भइसकेको बताउँदै अब बहस एजेन्डा केन्द्रित हुनु पर्नेमा जोड दिनुभएको छ।

तर, उपमहासचिव शर्माको ती धारणा पार्टीभित्र विवादको विषय बनेको छ। अध्यक्ष प्रचण्डनिकट नेताहरूले शर्माले नेतृत्वमाथि संगीन आरोप लगाएको भन्दै अनुशासनको कारबाही गर्नुपर्ने माग गरेका छन्। पार्टीका अर्का उपमहासचिव वर्षमान पुनले नेतृत्व कमजोर बनाउने प्रयास आपत्तिजनक रहेको भन्दै शर्माप्रति आलोचना गरेका छन्। केही दिनअघि काठमाडौंमा आयोजित कार्यक्रममा शर्माले कम्युनिस्ट नेतृत्व नै सिद्धान्तबाट च्युत हुँदै गएको टिप्पणी गर्दै प्रधानमन्त्री भएका नेताहरूमा मनमोहन अधिकारीबाहेक अरू सबैले “असुली धन्दा” चलाएको आरोप लगाएका थिए। उक्त टिप्पणी अध्यक्ष प्रचण्डप्रति लक्षित रहेको ठहर गर्दै प्रचण्ड पक्षका नेताहरू थप आक्रोशित बनेका छन्।

शर्माले भने आफूले पार्टी फुटाउने होइन, बचाउने पक्षमा रहेकाले विगत दुई वर्षदेखि पार्टी फुट्छ भन्ने प्रचारमा मलजल नगरियोस् भन्ने चेतावनी दिएका छन्। उहाँले हुलाकी राजमार्ग र मध्य पहाडी लोकमार्ग अभियानबाट आर्जेको ऊर्जा, पार्टीको शाख पुनः उठाउन उपयोग गर्नुपर्ने भन्दै गम्भीर आत्मसमीक्षा र एजेन्डा केन्द्रित बहसमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ।

‘यतिबेला सिङ्गो देश, जनता र राजनीतिक पार्टीहरू गम्भीर संकटमा छन्। यसको समाधान संविधान संशोधन, अर्थतन्त्रको पुनःसंरचना र पार्टीको पुनर्गठनबाट मात्रै सम्भव छ,’ शर्माले स्पष्ट रूपमा उल्लेख गर्नुभएको छ। उहाँको यो अभिव्यक्तिलाई केहीले सुधारको प्रस्तावका रूपमा लिए पनि पार्टीभित्र असन्तुष्टि र शक्ति संघर्षको नयाँ अध्यायको संकेतका रूपमा समेत हेरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend